प्रदेश १ को आज नामकरण हुने सम्भावना बलियो

विराटनगर । लामो समयसम्म नामकरण हुन नसकेको भन्दै आलोचित बनेको प्रदेश १ ले सम्भवत आज नै नाम पाउने सम्भावना देखिएको छ ।

प्रदेशको नामकरणको लागि भित्र भित्रै दलहरुबिच पटक–पटकको छलफलबाट सम्भावित साझा नामको बिषयमा सहमति कायम भएपछि आज ‘सरप्राइज’ रूपमा नामकरणको प्रक्रिया सुरु गरिँदैछ ।

राजनीति दलको आम सहमतिमा नामकरणको विषय प्रदेशसभामा आजै प्रवेश गराउने तयारी गरिएको हो । बिहान १० बजे सर्वदलीय छलफलपछि प्रदेशसभामा प्रक्रियाका लागि नामले प्रवेश पाउने छ । छलफल र बैठकमा सहभागी नेताहरूले भने सूचना गोप्य राख्ने सहमति पनि गरेका छन् ।

यद्यपी नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेती सुशिलले सामाजिक सञ्जालमा लेख्दै अघिल्लो प्रदेश सभाले गर्न बाँकी राखेको एउटा महत्वपूर्ण कार्य आजको प्रदेश सभाले फाइनल गर्ने बताउनुभएको छ । उँहाले लेख्नुभएको छ,‘यो प्रदेशले आज नाम पाउछ ।’

नेकपा माओवादीले पहिचानसहितको नाममा जोड दिए पनि यदि अरु नाममा दुई तिहाइ पुग्ने भएमा त्यसैमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ । हिजो माओवादीका प्रदेश अध्यक्ष , केन्द्रिय सदस्य साथै संसदीय दलको नेताको इन्द्रबहादुर आङ्बोको उपस्तिथिमा बैठक बसेर नामकरणमा बाधक नबन्ने नीति पास गरेको छ ।

यो सँगै प्रदेश १ को नाम कोसी रहने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीका प्रदेश अध्यक्ष, इन्चार्ज र केन्द्रीय अध्यक्षसँगको समन्वयमा छलफल अघि बढाउनुभएको थियो । एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले यस अघि नै प्रदेशको नाम कोसी हुनुपर्ने लबिङ गर्दै आउनुभएको थियो।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामा नामको प्रस्ताव आए आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ ।

Back to top button