दुई दिनभित्र नै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ ।

मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला आज ललितपुर चेम्बर अफ कमर्सले गरेको कार्यक्रममा उहाँले १–२ दिनभित्रै सरकारले पूर्णता पाउने दाबी गर्नुभएको हो ।

अर्थतन्त्र गम्भीर अवस्थामा रहेको र सरकारको सकारात्मक हस्तक्षेप आवश्यक भएको भन्दै उहाँले भन्नुभयो,‘सरकारको तर्फबाट मैले तपाईहरुलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ । १–२ दिनभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ । त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरु पनि गरेर एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढनेछौं ।’

सो कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले आम उपभोक्तालाई सस्तो र गुणस्तरीय बस्तुको उपयोग गराउने काममा ३ वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

Back to top button