
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू निकट व्यक्तिलाई जबर्जस्ती मुछ्न खोजेको आरोप लगाउनुभएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले जबर्जस्ती बयान दिन लगाएर आफू नजिकका मान्छेको नाम पोल्न लगाएको आरोप लगाउनुभयो।
‘हाम्राविरुद्ध जे बोले पनि हुने। जे प्रचार गरे पनि हुने। बिनासिती ढंगले हाम्रा मान्छेलाई नक्कली भुटानी प्रकरणमा मुछेका छन्। एमालेका खासगरी मेरा नजिक भनिएकाको नाम पोल्न लगाउने काम भयो,’ उहाँले भन्नुभयो।
उहाँले प्रहरीमा उच्चारण गरेको बयान छापामा कसरी भन्दै प्रश्न गर्नुभयो। ‘प्रहरीमा उच्चरण गर्नेवित्तिकै छापामा कसरी आउँछ। कहिले कहिले त छापामा पहिले आउँछ अनि बयान लिइन्छ। कस्तो तयारी साथ,’ उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले बयान रोकेर जबर्जस्ती सही गर्न लगाइएको आरोप लगाउनुभयो। उहाँले यस विषयको फेहरिस्त तथ्यांकसहित आउँदै जाने बताउनुभयो। उहाँले एक वर्षअघि निवेदन परे पनि किन गुपचुप गर्न खोजे भन्दै प्रश्न उठाउनुभयो।
‘निवेदनको बाढी आउन थालेपछि थाम्न नसकेर फेरि गिरफ्तार गरे। त्यसअघि उनीहरूलाई किन छाडियो? दलालसँग नयाँ योजना बनाइन्छ। विशेष सुविधा दिइन्छ,’ उहाँले भन्नुभयो।
उहाँले ९ करोड बुझाएँ भन्ने व्यक्तिलाई नै सरकारले सूचनादातामा राखेको भन्दै आपत्ति जनाउनुभयो। ‘९ करोड बुझाउनेलाई सरकारले सूचनादाता भन्छ। यहाँ मिलेमतो छैन कसरी भन्ने? क–कसको संलग्ता छ भोलि उजागर हुँदै जानेछ,’ उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले सरकारको भूमिका एमालेविरोधी भएको बताउनुभयो। ‘सरकार देशको पक्षमा कुनै काम गरेको छैन। एमालेको विरुद्धमात्र गरेको छ,’ उहाँले भन्नुभयो।