मलेसियाविरुद्धको दोस्रो टी–२० मा नेपालको सहज जित

काठमाडौं । पाँच टी–२० खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हासिल गरेको छ । पहिलो खेलमा हिजो ५० रनमै अलआउट भएपछि आलोचित बनेको नेपालले दोस्रो खेलमा संयमित प्रदर्शन गरेको हो ।

नेपालले पहिलो खेल ५ विकेटले गुमाएको थियो । योसँगै शृंखला बराबरीको अवस्थामा पुगेको छ । यूकेएम क्रिकेट ओभलमा मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्बाधिक अविजित २९ रन बनाउनुभयो । उहाँले छक्का प्रहार गरी टिमको जित निश्चित गर्नुभएको थियो । रुविनाले २१ बलमा ३ चौका र १ छक्का प्रहार गर्नुभयो।

ओपनरद्वय कविता कुँवर र सीता रानामगरले ३३ रनको सुरुवाती साझेदारी गर्नुभएको थियो । सीता २२ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाएर आउट भएपछि आएकी कविताले विन्दु रावलसँग मिलेर दोस्रो विकेटका लागि ३० रनको साझेदारी गर्नुभयो।

विन्दु १८ बलमा १७ रन बनाएर आउट भइन् । तेस्रो विकेटका रुपमा कविता २६ रन बनाएर आउट भइन् । सम्झना खड्का २ रनमा अविजित रहिन् ।

बलिङमा मलेसियाका एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १–१ विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो । सुरुवात राम्रो गरे पनि मलेसियाका ब्याटरहरुलाई नेपाली बलरहरुले रोकेका थिए ।

मलेसियाका ओभरन विनीफ्राइड दुराइसिंगम र वान जुलियाले ३१ रनको सुरुवाती साझेदारी गर्नुभएको थियो । विनीफ्राइड २० रन बनाएर आउट भएपछि आएकी मास इलिसासँग मिलेर जुलियाले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गर्नुभयो ।

जुलियाले २० र इलिसाले २८ रन बनाउनुभयो । त्यसपछिका ब्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । अइन्ना हमिजाले १४ रन जोड्नुभयो ।

बलिङमा नेपालकी कप्तान रुविना क्षेत्रीले २ विकेट लिनुभयो । उहाँले ४ ओभरमा १६ रनमात्र खर्चिनुभयो । कविता कुँवर र इन्दू बर्माले १–१ विकेट लिनुभयो । यस्तै, दुईबीचको तेस्रो खेल बिहीबार हुनेछ ।

Back to top button