स्वच्छ तथा सफा मासु उत्पादन एवं बिक्री वितरणसम्बन्धी तालिम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा स्वच्छ तथा सफा मासु उत्पादन एवं बिक्री वितरणसम्बन्धी एकहप्ते तालिम सम्पन्न भएको छ ।

महानगरको पशुपन्छी विकास शाखाको आयोजनामा सम्पन्न तालिममा विराटनगरको १९ वटै वडाबाट २६ जना मासु व्यवसायीको सहभागिता रहेको पशुपन्छी शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो ।

तालिममा विज्ञ डा. गंगाराम यादव, डा. बोधप्रसाद पराजुली, डा. मनिषकुमार साह, डा. सराहना सुवेदी, शुभनारायण यादव र गणेश पौडेलले प्रशिक्षण दिनु भएको थियो ।

सहभागीहरुलाई स्वच्छ मासु उत्पादनदेखि बिक्रीवितरण तथा विभिन्न रोगहरुबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जानकारी दिनु भएको थियो ।

तालिमको समापन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले मासु व्यवसायलाई व्यवस्थित बनाउन महानगरपालिका लागिपरेको बताउनुभयो ।

उहाँले पशु वधशाला निर्माणका लागि पनि पहल भइरहेको जानकारी दिनुभयो । महानगरको सीमित बजेटले मात्रै वधशाला निर्माण गर्न गाह्रो पर्ने भएकाले संघीय र प्रदेश सरकारसित सहकार्य गरेर निर्माण गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विराटनगर १९ का वडाध्यक्षसमेत रहनु भएका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले महानगर क्षेत्रभित्रका सबै माछामासु व्यवसायीहरुलाई प्रशिक्षित गर्ने बताउनुभयो ।

महानगरको सफाई अभियानलाई प्रभावकारी बनाउन पनि वधशाला निर्माण जरुरी रहेको उहाँले औंल्याउनुभयो । त्यस्तै सहभागीहरुका तर्फबाट मासु व्यवसायी संघ विराटनगरका अध्यक्ष सुभाषचन्द्र सिवाकोटीले महानगका विभिन्न चार स्थानमा व्यवस्थित माछामासु बजार बनाउन आफूहरु तयार रहेको बताउनुभयो ।

उहाँले महानगर र व्यवसायी मिलेर वधशाला निर्माण गर्न सकिने प्रस्ट पार्नुभयो । अर्का व्यवसायी टंकप्रसाद गौतमले व्यवसायीलाई तालिम दिएर महानगरले राम्रो कार्य गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

तालिममा सहभागीहरुलाई मेयर नागेश कोइराला र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

Back to top button