कोशी प्रदेशका उपसभामुख र एमाले नेतामाथि दुर्व्यवहार

विराटनगर । कोशी नामकरणको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार र नेकपा एमाले संसदीय दलका उपनेता राम रानामाथि दुर्व्यवहार गरेका छन् । उपसभामुख दनुवारमाथि उदयपुरमा र रानामाथि इलाममा दुर्व्यवहार भएको हो ।

आज इलामबाट झापा फर्कने क्रममा आफूमाथि इलाम नगरपालिका– ११ सोयाकमा बिहान साढे ११ बजे दुर्व्यवहार भएको एमाले नेता रानाले बताउनुभयो । रानाले आफू सवार गाडीमा कालो मोबिल पोखिएको बताउनुभयो ।

‘इलामबाट भित्रीबाटो तराई फर्कदै थिएँ मुढाले बाटो छेकेर गाडीमा मोबिल हाले’, उहाँले भन्नुभयो,‘शान्तिपूर्ण आन्दोलन भन्थे तर त्यस्तो देखिएन । आन्दोलनकारीले ढुंगा पनि प्रहार गरेका थिए ।’

पहिचान पक्षधरका कार्यकर्ताले उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारमाथि पनि दुर्व्यवहार गरेका छन् । उहाँ चढेको गाडी रोकेर दुर्व्यवहार गर्न खोजेपछि चालकले गाडी अगाडि बढाएका थिए । त्यस क्रममा पहिचान पक्षधर कार्यकर्ताले नाराबाजी गरेका थिए ।

यस्तै, फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नामकरण हुनुपर्ने पक्षमा रहेका विभिन्न राजनीतिक दल र जातीय संगठन आन्दोलनमा रहेका छन् ।

आन्दोलनरत पक्षधरसँग वार्ताका लागि प्रदेश सरकारले बुधबार मन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

Back to top button