विराटनगर महानगरका मेयर कोइरालाको सक्रियता

पानीमा रुझ्दै सरसफाई, डुबान र बाढीको अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला बिहान ६ बजे नै घरबाट निस्कनु हुन्छ । उहाँ बिहान घुमफिर होइन महानगरमा कुन–कुन ठाउँमा फोहोर थुप्रिएको छ, कताकता पानी जमेको छ, जनताका समस्या के छ भनेर बुझ्न निस्कनु हुन्छ ।

मेयर कोइरालाले प्रभातकालीन अनुगमन नाम दिएर हरेक बिहान ६ बजे निस्कनु हुन्छ र साढे ९ बजे घर फर्किनु हुन्छ । प्रभातकालीन अनुगमनअन्तर्गत मेयर कोइरालाले आज बिहान विराटनगरका विभिन्न वडाको अनुगमन गर्नुभयो ।

सरसफाई शाखा, नगर प्रहरी र सचिवालयको टिमसहित निस्कनु भएका मेयर कोइरालाले प्वाल टालिएर पिच सडकमा जमेको पानी खोल्न लगाउनु भएको थियो ।

मेयर कोइरालाले वडा २, ३, ७ र १२ वडाको अनुगमन गर्नुभयो । पानीको सहज निकासका लागि महानगरले गत माघदेखि नै विराटनगरका नाला सफाई सुरु गरेको थियो । जसका कारण विगतमा भन्दा सडकमा पानी जम्ने समस्या कम भएको स्थानीयको भनाइ छ । अविरल वर्षाको पनि प्रवाह नगरी मेयर कोइराला आफैं अनुगमनमा निस्किएको प्रति स्थानीयले खुसी व्यक्त गरेका छन् ।

महानगर बनाउने हुटहुटी र विराटनगरवासीलाई दुःख नहोस् भनेर मेयर कोइराला धेरै नै चिन्तित भएको पाइएको विराटनगर–३ का स्थानीय सुशान्त बस्नेतले बताउनुभयो । मेयरको सक्रियता र काम गर्ने शैलीबाट आफूहरु सन्तुष्ट रहेको बस्नेतको भनाइ छ ।

“चुनावमा भोट दिँदै गर्दा नागेश कोइरालाले विराटनगरवासीको समस्या समाधान गर्न यसरी खट्नुहुन्छ र यति राम्रो काम गर्नुहुन्छ भन्ने लागेकै थिएन,” उहाँले भन्नुभयो, “पार्किङ र सरसफाईमा त देशभरै स्थानीय तहमध्ये उत्कृष्ट काम गर्नुभएको छ ।” मेयर, उपमेयर र वडाध्यक्षहरुको विराटनगर बनाउने सन्दर्भमा अत्यन्र्त राम्रो सहकार्य भइरहेको महसुस भएको उहाँले बताउनुभयो ।

यस्तै, मेयर कोइरालाले आन्तरिक सुशासनलाई पनि उच्च प्राथमिकता दिँदै आउनु भएको छ । उहाँले महानगरका महाशाखा र शाखाहरुको आकस्मिक अनुगमनसमेत गर्दै आउनु भएको छ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा महानगर लागेको छ ।

यसैगरी, सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा समेत महानगरले रोक लगाएको छ । साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको दर्ता र नवीकरण गर्ने निर्णयसमेत गरिसकेको छ ।

Back to top button