प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँले आफूलाई प्रतिनिधि सभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे ।

आज प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधि सभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनुपर्थ्यो ।

प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएको भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गर्नुभयो ।

यस्तै, २१ फागुनमा कांग्रेससँगको सहकार्य तोडेर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनाउनुभएका प्रचण्डलाई एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले पनि मत दिएका छन् ।

Back to top button