कोशीमा नयाँ सरकार आह्वानविरुद्ध रिट दर्ता गर्न मुख्यमन्त्री कार्की काठमाडौंमा

विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले गरेको नयाँ सरकार गठनको आह्वानविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न मुख्यमन्त्री केदार कार्की काठमाडौं पुग्नुभएको छ ।

सर्वोच्च अदालतमा रिट दायर गर्न मुख्यमन्त्री कार्की आज बिहानै काठमाडौं पुग्नुभएको उहाँका जनसम्पर्क सल्लाहकार लिलाबल्लभ घिमिरेले जानकारी दिनुभयो । आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आव्हान गर्नु संविधानविपरीत भएको जिकिरसहित उहाँ अदालत जान लाग्नुभएको हो ।

अदालत खुल्नसाथ रिट दर्ता गर्ने तयारी रहेको उहाँको भनाइ छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८० असोज २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीलाई दिएको समर्थन र विश्वासको मत गत चैत २६ गते माओवादी केन्द्र र एमालेका ५२ प्रदेशसभा सदस्यले फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको थियो । तर, उहाँले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान राख्दै ३० दिन कटाएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको दाबी गर्नुभएको छ । ‘प्रदेश प्रमुखले प्रदेशमा एकैपटक दुई वटा मुख्यमन्त्री हुने कल्पना गरेको देखिन्छ’, उहाँले भन्नुभयो,‘यो गैरसंवैधानिक छ ।’

प्रदेश प्रमुख परशुराम खापुङ्गले बुधबार राति १० बजेपछि नयाँ सरकार गठनको आह्वान गर्नुभएको थियो । सविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशीमा नयाँ सरकार गठनको लागि प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने प्रदेशसभाका कुनै सदस्यलाई वैशाख २८ गते, शुक्रबार अपराह्न ५ : ०० बजेभित्र आफ्नो दाबी पेस गर्न समय दिइएको छ ।

दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता गरेको ३० दिन पूरा भएको, मुख्यमन्त्रीले विश्वासको मत नलिएको तथा संकल्प प्रस्तावले उहाँ अल्पमतमा पर्नुभएको ठहरका आधारमा नयाँ सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयको सूचनामा उल्लेख छ । मुख्यमन्त्री काठमाडौं पुग्दा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गर्ने तयारी गरिरहेका छन् ।

एमाले र माओवादीले भने आजै नयाँ मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्कीको दाबी पेस गर्ने तयारी गरेका छन् भने प्रदेश प्रमुख पर्शुराम खापुङले आजै सांसदहरूको हस्ताक्षर सनाखत गराएर मुख्यमन्त्री नियुक्ति र शपथ गराउने तयारी गरेका छन् ।

Back to top button