विराटनगर महानगरद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर १८ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आर्थिक अभावका कारण गरिब तथा विपन्न व्यक्तिहरुलाई अस्पताल जान समस्या हुने भएकाले वडामै स्वास्थ्य शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ ।

महानगरले हरेक वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट रोगको पहिचान भई समयमै
उपचार हँदा बिरामी चाँडै निको हुने गर्दछन् । महानगरका मेयर नागेश कोइरालाले यस निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नुभएको हो । शिविरमा आउने नागरिकलाई कुनै समस्या हुन नदिन उहाँले चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीहरुलाई निर्देशनसमेत दिनुभएको छ ।

महानगरले भौतिक पुर्वाधारको विकाससँगै नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिएको उहाँको भनाइ थियो । विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा सुगर,प्रेसर, क्षयरोग, बालरोग, यौनरोग, स्त्री रोग, आँखा, कान, दन्त, फिजिसियनलगायतका सेवा उपलब्ध गराइएको महानगरको स्वास्थ्य महाशाखाका भोला तिम्सिनाले जानकारी दिनुभयो ।

शिविरमा आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । सो अवसरमा महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १८ का अध्यक्ष जितेन्द्र साहलगायतले वडावासीलाई सहज होस् भनेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो ।

महानगरले गत वर्ष पनि १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा झण्डै ५ हजार व्यक्तिले स्वास्थ्य चेकजाँच गराएका थिए । यस वर्ष पनि महानगरले १९ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

Back to top button