इलाम निर्वाचनः उम्मेदवारले गरे मतदान

काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ ।

मतदान सुरु भएसँगै प्रमुख दलका र मुख्य प्रतिस्पर्धी भनिएका उम्मेदवारहरूले मतदान गरिसकेका छन् ।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गर्नुभएको छ । त्यही क्याम्पसको केन्द्रबाट सांसाद महेश बस्नेतले पनि मतदान गर्नुभएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि मतदान गरिसक्नुभएको छ । उहाँले महेन्द्ररत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गर्नुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ–२ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गर्नुभएको छ ।

सोही मतदानस्थलको ‘क’ केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राईले पनि मतदान गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले आफ्नै जन्मथलो फाकफोकथुम गाउँपालिका–३ स्थित सिंहदेबी मा.बि. शुक्रबारे (क) मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको छ ।

आयोगका अनुसार इलाम–२ मा १ लाख १६ हजार ८ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १ सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।

आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

इलाम–२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन गरिएको हो ।

Back to top button