सांसद नेम्बाङद्वारा शपथ ग्रहण

काठमाडौं । इलाम–२ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित कृषि समितिको हलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्बाङले शपथ लिनुभएको हो ।

शपथपछि सभामुख घिमिरेले नेम्बाङलाई सांसदको लोगो लगाइदिनुभएको थियो। कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायतको उपस्थिति थियो ।

गत बैशाख १५ गते सम्पन्न उपनिर्वाचनबाट एमालेबाट उम्मेदवार नेम्वाङ शानदार विजयी हुनुभएको थियो । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित हुनुभएको हो ।

नेम्वाङले २७ हजार ७७२ मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो । सुहाङका बुबा एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा उपनिर्वाचन भएको थियो ।

Back to top button