प्रचण्ड पूरै कार्यकाल प्रधानमन्त्री हुन सक्ने ओलीको संकेत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूरै कार्यकाल प्रधानमन्त्री हुन सक्ने संकेत गर्नुभएको छ ।

प्रेस चौतारी कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको र अरू प्रधानमन्त्री बन्न अगाडि नसरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘अहिले मलाई त्यति मन पनि लागेको छैन । अरू कोही अगाडि पनि सरेका छैनन् । के गर्ने त उहाँ नै खानुहोला जस्तो पो देखिन्छ त!’

यस्तै, अध्यक्ष ओलीले उजुरी दर्ता भएकै आधारमा मन्त्री नहुने हो भने सबै पद खाली हुने बताउनुभयो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा उजुरी परेको र कांग्रेसले त्यही विषय संसदमा उठाएकोबारे पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो,‘उजुरी हालेकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री, सांसद सबै खाली हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भैगो नि !’,

उहाँले गम्भीर मुद्दा, अपचलन देखिँदा, हिनामिना भएको ठहर भएमा फरक ढङ्गले हेरिनुपर्ने बताउनुभयो ।

Back to top button