हतियार इजाजत दिने नीति परिमार्जन गरौं : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले हतियारको इजाजत दिने नीति परिमार्जन गर्न माग गर्नुभएको छ ।

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद पन्तले लाइसेन्स लिएर राखिएका हतियारको दूरुपयोग भयो भने को जिम्मेवार हुन्छ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले सयौं गोली बोकेर हिँड्ने हतियार राख्न दिँदा सार्वजनिक र राष्ट्रिय सुरक्षा कमजोर हुने तर्क गर्नुभयो ।

‘लाइसेन्स लिएर क–कसले हतियार राखेका छन्, के कति छन्? कति हजारको संख्यामा छन्, रेकर्ड छ? छैन? हतियार फिर्ता लिनुपर्ने आवश्यकता ठान्नुभएको छ कि छैन ?’ गृहमन्त्री रवि लामिछानेतर्फ संकेत गर्दै उहाँले प्रश्न गर्नुभयो,‘दुर्गा प्रसाईंलाई जुन प्रकारको हतियार कसरी दिइयो, त्यो प्रकारका हतियार हेर्दा तपाईंहरुले हतियार दिने कानुन पनि फेर्नुपर्छ लागेको छ कि छैन? अब त, हतियार दिने नीति पुनर्विचार र परिमार्जन गर्नुपर्‍यो। गृह मन्त्रालयको सोच के हो ? दिएको छ भने फिर्ता लिने र नीति परिमार्जन गर्ने सोच छ कि छैन?’

राज्यले जनतालाई सुरक्षा दिनुपर्ने भन्दै सांसद पन्तले व्यक्तिगतरुपमा हतियार बोक्नु नपर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले गृहमन्त्रीलाई गुप्तचर संस्थालाई बलियो बनाउन आग्रह गर्नुभयो । पन्तले भन्नुभयो,‘हाम्रो राष्ट्रिय सेक्युरिटी सिस्टमलाई थ्रेट आउने कुरालाई बलियो बनाउन कति काउन्टर जासुसी संयन्त्र चाहिन्छ, सरकारले सोचिरहेको छ कि छैन?’

उहाँले पारिबाट (भारतबाट) तराईंमा साम्प्रदायिक द्वन्द्व गराउन प्रयास भइरहेको भन्दै तराईंमा केहि संकेत पनि देखिन थालेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । संसद सचिवालयका अनुसार आजको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको छ ।

Back to top button