प्रदेशमा पनि सत्ता गठबन्धनलाई समर्थन गर्ने नाउपाको निर्णय

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले एमाले–माओवादी केन्द्र र रास्वपासहितको गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।

संस्थापक केन्द्रीय सदस्य रमेश बिकले सबै तहको सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेको जानकारी दिनुभयो ।
२१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना सहभागी थिए ।

प्राविधिक समस्याका कारण केही केन्द्रीय सदस्य बैठक सहभागी हुन नसकेको बिकले बताउनुभयो ।

यसअघि नाउपाका संरक्षक रेशमलाल चौधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्ववासको मत दिन ह्ववीप लगाउनुभएको थियो ।

सुदूरपश्चिम प्रदेशमा संरक्षक रेशमलाल चौधरीको जोडबलमा नाउपाका पाँच जना सांसद कांग्रेस नेतृत्वको सरकारमा मन्त्री बनेका छन् ।

अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेश संसदीय दलले भने मुख्यमन्त्री कमलबहादुर शाहलाई नै समर्थन गर्ने निर्णय गरेको थियो ।

Back to top button