आगलागी पीडित सन्थाल समुदायको स्थायी घर निर्माणका लागि पहल गर्दै कोशी सरकार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गरिरहेको बताउनुभएको छ ।

पीडित परिवारसँग प्रत्यक्ष भेट गरी वासस्थानका लागि स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा स्थायी समाधान गरिने बताउनुभएको हो ।

यही चैत्र ३ गते सन्थाल समुदायको बसोबास रहेको त्यस ठाउँमा आगलागीबाट २३ वटा घर जलेर नष्ट भएको थियो । सन्थाल बस्ती सुकुम्वासी बस्ती हो ।

मुख्यमन्त्री कार्कीले अब विपन्नले विपन्न मात्रै नभई सम्पन्न बन्ने अभियानमा लाग्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीेले स्थानीय निकायले सो समुदायलाई आफ्नै जग्गाको व्यवस्थाका लागि अग्रसरता लिन आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो ‘प्रदेश सरकारले सुकुम्वासीले घर बनाउन लिएको जग्गाको ऋणको ब्याज मिनाहा गर्ने योजना ल्याएको छ । तपाइँ हामीले आँट गर्‍यौं भने उहाँहरूलाई सम्पन्न बनाउन सकिन्छ ।’

उहाँले विराटनगर- १२ मा सुकुम्वासीहरूले ऋण लिएर खरिद गरेको जग्गामा सम्पन्न बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै त्यहाँ विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा घर निर्माण कार्य भएको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, त्यही मोडलबाट यहाँ पनि घर बनाउन सकिन्छ, अब विपन्न समुदाय विपन्न मात्रै भइरहने होइन, सम्पन्न बन्ने अभियानमा होमिनु पर्दछ । जसका लागि प्रदेश सरकारले मानवीय विकासमार्फत यसको सुरुवात गरिसकेको छ ।’

Back to top button