बझाङ उपनिर्वाचन : ४९.१२ प्रतिशातमात्रै मतदान ,३ केन्द्रको मतपेटिका भोलि हेलिकप्टरमार्फत ल्याईने

कैलाली । बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा आधाभन्दा कम मत खसेको छ ।

यहाँ ६१ हजार ७ सय ६८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ मत अर्थात ४९.१२ प्रतिशतमात्रै मत खसेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बझाङमा ९३ मतदान केन्द्र र ७४ मतदान स्थल तोकिएका थिए । सबैमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार अहिले मत पेटिका ल्याउने काम भइरहेको छ । साइपाल गाउँपालिका वडा नम्बर ३, ४ र ५ बाहेक अरू वडा र स्थानीय तहका मतपेटिका मतगणनास्थल सदरमुकाम चैनपुरतर्फ लिने काम भइरहेको छ । ती तीन वडाको मत पेटिका भोलि आइतबार हेलिकप्टरमार्फत ल्याइने मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो ।

मतपेटिका आएपछि सर्वदलीय बैठक बस्ने र भोलि आइतबार दिउँसोबाटै मतगणना सुरु गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

बझाङमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरुमध्ये नेपाली कांग्रेस र नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा हुने आकलन छ ।

Back to top button