
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोज १ र २ गते काठमाडौंमा हुने राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रास्वपाले राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि हुने र भेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भेलालाई सफल बनाउन तयारी तीव्र रुपमा भइरहेको र प्रतिनिधिहरुको टुङ्गो लागेको जानकारी दिनुभयो। उहाँले राष्ट्रिय भेला महाधिवेशनको समेत तयारीका लागि आयोजना गरिएको र महाधिवेशनका विषयमा आउने प्रश्नहरूको जवाफ भेलामार्फत दिने जिकिर गर्नुभयो ।
यस्तै, बुर्लाकोटीले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुराउन उपसभामुखलाई हटाउने षडयन्त्र भइरहेको बताउनुभयो । पुरानो मितिमा लेखिएको पत्रका आधारमा अहिले विरोध जनाउने कुरा उचित नभएकाले रास्वपाले यसको विरोध गर्ने उहाँको भनाइ छ ।
राष्ट्रिय भेलामा राजनीतिक, सांगठानिक प्रतिवेदन पेश गरिने र सवै प्रदेशका सभापतिहरूले पनि आ–आफ्नो प्रतिवेदन समेत प्रस्तुत गर्ने रास्वपाले जनाएको छ ।







