
विराटनगर । जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार–२०८३ बाट खबर पूर्वाञ्चल अनलाईका अध्यक्ष पुष्पराज थपलिया सम्मानित हुनुभएको छ ।
प्रेस चौतारी नेपाल मोरङ शाखाले प्रत्येक वर्ष प्रदान गर्दै आएको १५ हजार ५ सय ५० रुपैयाँ राशिको पुरस्कार यस वर्ष थपलियालाई प्रदान गरिएको हो ।
थपलिया दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँले शिक्षा तथा स्थानीय विकासका विषयमा निरन्तर कलम चलाउँदै आउनु भएको छ।
विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री विदुरकुमार लिङ्थेप, आयोजक प्रेस चौतारी मोरङकी अध्यक्ष चीना थापा, पुरस्कारकी संस्थापक कमला मैनालीलगायतले थपलियालाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।
प्रेस चौतारी मोरङकी अध्यक्ष चीना थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, प्रेस युनियनका केन्द्रीय सदस्य लीलाबल्लभ घिमिरे, कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, कोशी प्रदेश सञ्चार प्रतिष्ठानकी सदस्य शान्ति दाहाललगायत अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।







