कोशी नाम खारेजीको माग गर्दै आज विराटनगरमा प्रदर्शन

विराटनगर । किरात राई यायोक्खाको राष्ट्रिय महाधिवेशनका अवसरमा आज विराटनगरमा निकालिएको र्‍यालीमा सहभागीहरूले कोशी प्रदेशको नाम खारेज गरी पहिचानका आधारमा नामकरण गर्न माग गरेका छन् ।

रोडशेष चोकबाट सुरु भएको र्‍यालीमा किरात राई समुदायका मानिसहरू जातीय पहिरनमा सहभागी भएका थिए । र्‍याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि पुगेपछि सहभागीहरूले करिब १५ मिनेट प्रदर्शन गर्दै प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाएका थिए ।

प्रदर्शनका क्रममा उनीहरूले ‘कोशी प्रदेश खारेज गर’, ‘पहिचानको आधारमा कोशीको नामकरण गर’ र ‘पहिचान विरोधी होसियार’ लगायतका नारा लगाएका थिए । सहभागीहरूले पहिचानका आधारमा प्रदेशको नामकरण गर्न माग गर्दै विभिन्न प्लेकार्डसमेत प्रदर्शन गरेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि प्रदर्शन गरेपछि र्‍याली वीरेन्द्र सभागृह पुगेको थियो । त्यहाँ सहभागीहरू किरात राई यायोक्खाको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका थिए ।

Back to top button