झापा र सुनसरीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । झापा र सुनसरीमा भएका छुट्टा-छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुवै दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।

झापाको कमल गाउँपालिका–३ सहिद गेटस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार साँझ स्कुल बस, मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । झिलझिलेबाट केर्खातर्फ आउँदै गरेको दमक नगरपालिका–९ स्थित सप्तश्री एकेडेमीको मे १ क ६३८ नम्बरको स्कुल बसले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१८ प ४८८३ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट उछिट्टिएको मोटरसाइकल दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५५४ नम्बरको ट्रकमा ठोक्किएर ट्रकको दाहिनेपट्टिको चक्कामा परेको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार इलाम नगरपालिका–८ की २१ वर्षीया माङकुमारी लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते लिम्बूलाई उपचारका लागि दमक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले साँझ ७ः५० बजेतिर मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक इलाम–८ का २७ वर्षीय पञ्चबहादुर लिम्बूको बायाँ हातको बुढीऔँलामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बस चालक दमक नगरपालिका–९ का ३५ वर्षीय अतित लिम्बू र ट्रक चालक मेचीनगर नगरपालिका–१४ का ६० वर्षीय गंगाबहादुर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन् । दुर्घटनाको कारण तीव्र गति रहेको प्रहरीको भनाइ छ ।

यस्तै ,सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित यातायात कार्यालयनजिक कोशी लोकमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०००२ नम्बरको ट्रक र सोही दिशातर्फ आइरहेको प्रदेश १–०२–०५९ प ७८७१ नम्बरको मोटरसाइकल बुधबार दिउँसो १२ः१० बजेतिर ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक तेह्रथुम सोल्माका करिब ३५ वर्षीय धनराज लिम्बू गम्भीर घाइते भएका थिए । कम्मरमा चोट लागेका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले दिउँसो १२ः५१ बजेतिर मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलले ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनापछि ट्रकका सहचालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ का ३३ वर्षीय कृष्णबहादुर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्रक चालक सुनसरीको धरान उपमहानगरपालिका–१६ का करिब ३१ वर्षीय आशिष भुजेल भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Back to top button