सबै प्रदेशका मुख्य न्यायाधिवक्ताहरू रारामा

मुगु । ‘सक्षम मुख्य न्यायाधिवक्ता, सुदृढ प्रदेश सरकार र प्रभावकारी संघीयता’ भन्ने मूल नारासहित सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको आठौँ राष्ट्रिय सम्मेलन मुगुको रारामा सुरु भएको छ ।

कर्णाली प्रदेश सरकारको आयोजनामा बुधबारदेखि सुरु भएको दुईदिने सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले गर्नुभएको हो । सम्मेलनमा महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलसहित सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको उपस्थिति रहेको छ ।

सम्मेलनको पहिलो दिन उद्घाटन समारोहसँगै सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूबीच संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयन, प्रदेश सरकारको संवैधानिक तथा कानुनी अधिकार, कानुनी जटिलता र न्यायिक प्रशासनका विषयमा छलफल तथा सुझाव संकलन गरिनेछ ।

उद्घाटन सत्रका सभापति एवं कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता सर्वराज जोशीका अनुसार सम्मेलनको दोस्रो दिन सहभागीहरूबाट प्राप्त सुझावका आधारमा रारा घोषणापत्र जारी गरिनेछ । यसका साथै विगतका राष्ट्रिय सम्मेलनबाट जारी भएका घोषणापत्रको कार्यान्वयन अवस्था, उपलब्धि र चुनौतीबारे समेत समीक्षा गरिनेछ ।

सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच कानुनी तथा संस्थागत समन्वय आवश्यक रहेको बताउनुभयो । संघीयता कार्यान्वयनका क्रममा संघीय सरकारले निर्माण गरेका कतिपय कानुन प्रदेश सरकारको अधिकार प्रयोग तथा कार्यसम्पादनमा बाधक देखिएको उल्लेख गर्दै उहाँले कानुनबीच एकरूपता, स्पष्टता र सामञ्जस्य कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविधानले प्रत्याभूत गरेका प्रदेश सरकारका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि कानुनी अस्पष्टता हटाउनुपर्ने र तीनै तहका सरकारबीच अधिकार तथा जिम्मेवारीको स्पष्ट बाँडफाँट हुनुपर्ने धारणा राख्नुभयो ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताहरूको संवैधानिक जिम्मेवारी, कानुनी सल्लाहकारको भूमिका, प्रदेश सरकारका तर्फबाट गरिने प्रतिरक्षा, कानुन निर्माणमा देखिएका समस्या तथा संघीयता कार्यान्वयनका व्यावहारिक चुनौतीबारे साझा धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ ।

 

Back to top button