त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाटै अब यात्रुले ब्यागेजको अवस्था नियाल्न सक्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउन ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा ब्यवस्थापन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यस व्यवस्थाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्। यसले यात्रुलाई सामानको अवस्थाबारे जानकारी लिन र ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न लाग्ने समयबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन। नयाँ व्यवस्थाले ब्यागेज ड्रप क्षेत्रमा भइरहेको गतिविधि आगमन कक्षमै देख्न सकिने भएपछि यात्रुको प्रतीक्षा समयलाई थप सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ।

Back to top button