एनपीएलः कर्णाली याक्स र सुदूरपश्चिम तथा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दै

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई रोमाञ्चक खेलहरू हुँदैछन्। शीर्ष चारको यात्रा बलियो बनाउने दाउमा रहेका र पहिलो जितको खोजीमा रहेका टोलीहरूबीच आज प्रतिस्पर्धा हुन लागेको हो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे सुरु हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम आमने–सामने हुनेछन्।

तीन खेलबाट दुई जित दर्ता गर्दै अंकतालिकाको तेस्रो स्थानमा रहेको कर्णाली आज जितको लयलाई निरन्तरता दिने योजनामा छ।

यता चार खेलमा दुई जित र दुई हार बेहोरेर छैटौँ स्थानमा रहेको सुदूरपश्चिमलाई भने अघिल्लो चरणको सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ।

यस्तै, दिउँसो ४ः३० बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्। तीन खेल खेलिसक्दा पनि जितविहीन बन्दै तालिकाको पुछारमा रहेको पोखरा आज पहिलो जितको खाता खोल्ने तीव्र दबाबमा मैदान उत्रिनेछ।

अर्कोतर्फ, एक जित, एक हार र एक खेल रद्द हुँदै तीन अंकसहित सातौँ स्थानमा रहेको चितवन पनि पोखरालाई हराएर अंकतालिकामा ठूलो फड्को मार्ने दाउमा छ।

Back to top button