नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक कार्की पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालत जाने

काठमाडौं। नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालत जाने हुनुभएको छ ।

कार्की निकट एक कानुन व्यवसायीका अनुसार पदमा बहाल रहेको प्रहरी कर्मचारीलाई बिनाकारण जिम्मेवारीबाट हटाउनु प्रहरी ऐनविपरीत भएको भन्दै पुनर्वहाली माग गर्न लागिएको हो ।

प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ ले गरेको व्यवस्थाअनुसार प्रहरी महानिरीक्षकको सेवा अवधि, पदावधि र उमेर हद गरी तीनवटै प्रावधानले कार्कीलाई पदबाट हटाउने अधिकार नदिइएको दावी रिट निवेदनमा गरिएको छ ।

कार्की नेपाल प्रहरी सेवामा २०५४ चैत १८ गते प्रवेश गर्नुभएको हो । प्रहरी नियमावलीले प्रहरी महानिरीक्षकका हकमा ३० वर्षको सेवा अवधी तोकेको छ । उमेर हद ५८ वर्ष छ ।

कार्कीको जन्ममिति २०२९ साउन १५ का आधारमा ५४ वर्ष पुग्नुभएको छ । कार्यकाल ४ वर्ष तोकिएको छ । उहाँ महानिरीक्षक नियुक्त भएको कात्तिक २७ मा एक वर्ष पुग्छ ।

उहाँलाई हिजो सरकारले प्रधानमन्त्रीको सल्लाहकार परिषद प्रमुखको पद सृजना गरि त्यसको जिम्मेवारी दिँदै एआईजी मनोज केसीलाई आईजीपीमा बढुवा गरेको छ ।

कार्कीको मुद्दामा अधिवक्ता टीकाबहादुर कुवँर र गोविन्द बन्दीसहितका कानुन व्यवसायीले बहस गर्ने तयारी छ ।

Back to top button