
काठमाडौं । साउदी अरबमा हालै भएको आक्रमणमा परी घाइते भएका एक नेपाली नागरिकको मृत्यु भएको छ । आक्रमणमा घाइते भएका अन्य दुई नेपाली नागरिक उपचाररत छन् भने एक जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
परराष्ट्र मन्त्रालयले आज पत्रकार ब्रिफिङमार्फत दिएको जानकारीअनुसार साउदी अरबको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टअन्तर्गत रहेको पब्लिक इन्भेस्टमेन्ट फन्ड टावर र जजान क्षेत्रमा भएका दुई छुट्टा–छुट्टै आक्रमणमा चार जना नेपाली नागरिक घाइते भएका थिए।
घाइते चारै जनालाई उपचारका लागि रियादस्थित अस्पताल लगिएको थियो । उपचारका क्रममा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मृतकको शव नेपाल ल्याउने विषयमा रियादस्थित नेपाली राजदूतावासले आवश्यक समन्वय सुरु गरिसकेको मन्त्रालयले जनाएको छ । पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको उल्लेख गर्दै मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको जनाएको छ ।
उक्त क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्थानीय सरकार तथा सम्बन्धित नेपाली दूतावासबाट जारी गरिएका सुरक्षा निर्देशन र सूचनाहरू पूर्ण रूपमा पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । कुनै समस्या परेमा सम्बन्धित निकाय वा नजिकको नेपाली नियोगमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।
मन्त्रालयले कुनै पनि समस्याको समाधान शान्तिपूर्ण वार्ता र कूटनीतिक माध्यमबाट हुनुपर्नेमा जोड दिँदै कुनै पनि बहानामा मानवीय जीवन, निजी सम्पत्ति तथा सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने बताएको छ ।







