
विराटनगर । १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै विराटनगर – ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका ८ जना विद्यार्थी खेलाडीले सहभागिता जनाएका छन् ।
कर्णाली प्रदेशमा मंसिर १६ गते औपचारिक उद्घाटन हुने प्रतियोगितामा ३२ विधाका खेलहरु समावेश हुनेछन् । ति मध्ये लन टेनिस बाहेकका ३१ विधामा कोशी प्रदेशले सहभागिता जनाएको कोशी प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ ।
जसमध्ये दुई वटा विधामा मात्रै एभरेष्टका ८ खेलाडी कोशी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागि भएका हुन् । कोशी प्रदेशबाट सहभागी हुनुपर्ने पौडीमा १२ जना मध्ये ६ जना एभरेष्ट स्कुलका विद्यार्थी खेलाडी रहेका छन् । पौडीमा राष्ट्रिय प्रतियोगितामा छनौट भएका खेलाडीहरुमा कक्षा ७ का काब्या कार्की र पुरव तिम्सिना छन् ।
यस्तै कक्षा ६ की आश्ना कटुवाल, कक्षा ९ का रेहान अन्सारी, कक्षा १० का धावा साङ्गे तामाङ र बीआईटीका सम्राट पाठक रहेका छन् । यस्तै कोशी प्रदेशका १० खेलाडीको प्रतिनिधित्व गर्दै एभरेष्टबाट कक्षा १२ का प्रणिता गिरी र सुशान्त मेहताले सहभागिता जनाएका छन् ।
आफ्ना ८ जना विद्यार्थी राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै छनौट भएकोमा गौरव महशुष गर्दै प्रिन्सिपल टिकाराम पुरीले भन्नुभयो,‘हाम्रो सपना साकार हँदैछ, हरेक क्षेत्रमा विश्वभर प्रतिष्पर्धि हुनुपर्छ ।’
१०औं राष्ट्रिय खेलकुदमा विभिन्न ३२ वटा विधाका खेलकुद प्रतियोगिता भइरहेका छन् । जहाँ कोशी प्रदेशबाट ७७५ जना खेलाडीको सहभागिता रहने छ । राष्ट्रिय प्रतियोगितामा सात प्रदेश, तीनवटा विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन्।
सहभागि टोलीहरु मध्ये कोशी प्रदेश उत्कृष्ट हुने खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव विप्लव घोषले विश्वास ब्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो,‘विगतका रेकर्ड यस वर्ष कोशी प्रदेशले तोड्छ ।’ २७ गते मंसिर सम्म सञ्चालन हुने प्रतियोगिताको औपचारीक उद्घाटन १६ मंसिरमा भएपनि ८ मंसिर बाट नै स्पर्धाहरु सुरु भइसकेका छन् ।
प्रतियोगितामा सहभागी हुने टीमहरुमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), गैरआवासीय नेपाली संघ (एनआरएनए) रहेका छन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा, आईटीएफ तेक्वान्दो, आर्चरी, ई–स्पोर्ट्स, उसु, एथलेटिक्स, कबड्डी, कराते, कुस्ती, क्रिकेट, खो–खो, जिम्न्यास्टिक, जुडो, टेबलटेनिस , तेक्वान्दो, पौडी, फुटबल, फुल कन्ट्याक्ट कराते, बक्सिङ, बास्केटबल, बुद्धिचाल (चेस), ब्याडमिन्टन, भलिबल, भारोत्तोलन, रग्बी, लन टेनिस, शारीरिक सुगठन, साइक्लिङ, सुटिङ, सेपाकताक्रो, स्क्वास, हक्की, ह्यान्डबलका प्रतियोगिता हुनेछन् ।
राष्ट्रिय प्रतियोगिताका खेलहरु सुदुरपश्चिमका विभिन्न स्थानमा हुँदैछन् । एथलेटिक्स, क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपाकताक्रो, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारोत्तोलन, साइक्लिङ, ई–स्पोर्ट्सलगायतका खेल सुर्खेतमा हुनेछन् ।
यस्तै पौडी र सुटिङ नेपालगञ्ज, बाँकेमा हुनेछन् । टेनिस र खो–खो बर्दियामा हुनेछ भने जुडो र कुस्ती सल्यानमा हुनेछ । यस्तै आईटीएफ तेक्वान्दो दैलेखमा, बुद्धिचाल (चेस) कालिकोटमा हुनेछ । शारीरिक सुगठन पश्चिम रुकुममा हुनेछ । फुटबलका सेमिफाइनल तथा फाइनल खेल जुम्लामा हुनेछ ।
३८४ स्वर्ण पदक, ३८४ रजत पदक र ५६९ काँस्य पदक गरि कुल १,३३७ पदक रहेको यो राष्ट्रिय प्रतियोगितामा ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछन्। २०३८ सालबाट सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण २०७९ सालमा गण्डकी प्रदेशमा भएको थियो भने अहिले १० औं संस्करण कर्णाली प्रदेशमा भएको हो ।







