१३ जिल्लामा क्रियाशील सदस्यताको विवाद कायमै, वडा तहको अधिवेशन फेरि सर्ने

काठमाडौँ ।नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी रहँदा १३ जिल्लामा वडा तहको अधिवेशन फेरि सर्ने भएको छ । कांग्रेसले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको थियो । पछिल्लोपटक परिमार्जन गरिएको तालिकाअनुसार बाँकी २० जिल्लामा ५ असोजका लागि अधिवेशन तोकिएको थियो । सो मितिमा काठमाडौंसहित ७ जिल्लामा मात्रै अधिवेशन हुने भएको हो । बाँकी जिल्लामा भने त्यसपछि मात्रै वडा अधिवेशन गर्ने गरी काग्रेश अगाडि बढेको छ ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले १३ जिल्लामा ५ भदौपछि मात्रै वडा अधिवेशन हुने बताउनुभयो । ‘निर्वाचन समितिले १३ जिल्लाको सदस्यता पाएको छैन, आज वा भोलि आउँदा पनि ती जिल्लामा अब ५ भदौपछि मात्रै अधिवेशन गर्न सकिन्छ, सदस्यता पाएपछि सार्वजनिक गर्छौं र निर्वाचन अधिकृत तोक्छौं,’ निर्वाचन समितिका संयोजक यादवले भन्नुभयो ।

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंग्याउन नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रमेश लेखक र डा. मिनेन्द्र रिजाल सदस्य रहेको कार्यदल बनाइएको थियो । सो कार्यदलले आइतबार सबै जिल्लाको सदस्यता विवाद समाधान गरेर कागजात पार्टी सभापति शेरबहादुर देउवासहित महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालाई बुझाइसकेको छ ।

कार्यदलका सदस्य रिजालले कार्यदलले गर्ने काम सकेर सभापति र महामन्त्रीद्वयलाई बुझाएको र अब कार्यदलले सकेको कामलाई कार्यान्वयनमा लैजान मात्रै बाँकी रहेको बताउनुभयो।

अब बाँकी जिल्लाको क्रियाशील सदस्यताको नामावलीलाई सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेर केन्द्रीय निर्वाचन समितिलाई दिएपछि समितिले पार्टीको वेबसाइटमार्फत् नामावली सार्वजनिक गर्ने छ ।

कांग्रेसले अझै पनि १३ जिल्लाअन्तर्गत प्रदेश २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छैन ।

गत बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो ।

कांग्रेसले ९ असोजमा गाउँ÷नगर अधिवेशन तोकेको छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ÷नगर अधिवेशनका मतदाता हुन्छन् ।

Back to top button