भोलि सार्वजनिक यातायात चल्न पाउनुपर्छ : एमाले

चितवन । नेकपा एमालेले पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा सर्वाजनिक सवारीको आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल नगरेको जानकारी दिएको छ ।

उद्घाटन समारोहको पूर्वसन्ध्या नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भोली सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भोलि गाडी चल्नुपर्छ । कुनै प्रकारको अवरोध हुनुहुन्न । भट्टराईले उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आउने निश्चित भएको बताउँदै अन्य दलका अध्यक्षहरू पनि समारोहमा सहभागी भएर सम्बोधन गर्ने जानकारी दिनुभयो ।

भट्टराईका अनुसार महाधिवेशनमा २ हजार १७५ जना प्रतिनिधि सहभागी हुने छन् भने १०३ जना पर्यवेक्षक रहनेछन् । यसपटक महाधिवेशनमा कूल ६२७ जना महिला प्रतिनिधि र दलित र उत्पीडित वर्गबाट २०९ जना प्रतिनिधि सहभागी रहेको बताउनुभयो ।

त्यस्तै, उद्घाटनपछि सबै प्रतिनिधि र पर्यवेक्षकहरुलाई खाना र बस्नको व्यवस्था गरिएको बताउनुभयो । सबै प्रतिनिधिहरूलाई भोलि नै परिचय पत्र वितरण गरिने र पर्सी ११ बजेबाट बन्द सत्र सुरु हुने उहाको भनाइ छ ।

Back to top button