कांग्रेस प्रदेश १ सभापति को ?

विराटनगर । प्रदेश १ को कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले कांग्रेस प्रदेश १ को सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काङ्ग्रेस सुनसरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो । मङ्सिर १६ र १७ गते विराटनगरमा कांग्रेसको प्रदेश अधिवेशन हुँदै छ ।

प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका कोइरालाले वाणिज्यशास्त्रमा स्नातक गर्नुभएको छ । कांग्रेसको केन्द्रीय सभापतिका उम्मेदवार शेखर कोइराला निकट राजिवसँगै केन्द्रीय सदस्य गुरुराज घिमिरेले पनि प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेर तयारी थाल्नु भएको छ ।

संस्थापन इत्तर समूहबाट कोइराला र घिमिरेमध्ये एक जना उम्मेदवार हुने छन् । जसमा घिमिरेकै सम्भावना अधिक देखिएको छ । कोइराला प्रदेश १ को संसदीय दलको नेता भएर पनि प्रदेशस्थित १४ वटै जिल्ला हालसम्म पुग्न सक्नु भएको छैन । परम्परागत शैलीका कोइराला अहिलेको प्रतिस्पद्र्धात्मक माहोलमा उपयुक्त उम्मेदवार हुन नसक्ने कांग्रेस वृतमा चर्चा छ । प्रदेश सरकारमा पनि कोइरालाले रचनात्मक काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । कोइरालालाई कांग्रेसका तेस्रो तहका नेताहरुले घिमिरेलाई पाखा लगाउन प्रदेश सभापतिको उम्मेदवार बनाउन जोडबल समेत लगाइरहेका छन् ।

घिमिरे विद्यार्थी राजनीतिमा महेन्द्र मोरङ क्याम्पसमा स्ववियू सभापतिदेखि नेवि संघको केन्द्रीय सभापतिको नेतृत्व गरिसकेका योग्य र युवा उम्मेदवार हुनुहुन्छ । उहाँले प्रदेश १ मा मात्रै नभई देशभरि पहिचान बनाउन सफल भएका नेता हुन् । नेवि संघको सभापतिपछि छायाँमा परेका घिमिरेलाई शेखर कोइरालाले आफ्ना प्रवक्ता नै बनाएर देशभरि संगठन निर्माण खटाइरहनु भएको छ ।

घिमिरेले केन्द्रमा महामन्त्रीलगायत कार्यकारी पद नपाउने अवस्था रहेकोले प्रदेशको नेतृत्व सम्हालेर रचनात्मक काम गरी उदाहरण बन्ने दाउमा देखिनुभएको छ । उहाँले उम्मेदवारी दिने तयारी थालेदेखि संस्थापन पक्षबाट नेता भिष्मराज आङ्दम्बे, रामहरी खतिवडा र अमृत अर्याल जस्ता नेताहरुले उम्मेदवारीसमेत घोषणा गर्ने आँट गर्न सकेका छैनन् ।

Back to top button