एमालेले संगठन सुदृढीकरण अभियान चलाउने

काठमााडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेको अबको कार्यभार नेपाली जनताको ‘सम्मृद्ध नेपाल सुखी नेपाली’को आकांक्षा पुरा गर्ने रहेको बताउनुभएको छ ।

आज एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले सुखी नेपाली सम्मृद्ध नेपालको सपना पुरा गर्न वामपन्थी आन्दोलनमा रहेको अवसरवादलाई परास्त गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

साथै उहाँले नेपालमा भएका ठुला राजनीतिक परिवर्तनपछि सामाजिक अराजकताका स्वरुपहरु देखा परेको भन्दै राजनीतिलाई शुद्धीकरण गर्ने पार्टीको कार्यभार रहेको बताउनुभयो ।

‘नेपालका ठुला राजनीतिक परिवर्तनपछि सामाजिक अराजकताका स्वरुपहरु देखा परेका छन् ती सामाजिक स्वरुपहरुलाई परास्त गर्दै राजनीतिलाई शुद्धीकरण गर्ने कार्यभार तय गरेका छौ’, उहाँले भन्नुभयो । साथैँ उहाँले जनता र राष्ट्रका पक्षमा एमालेले गरेका राम्रा कामका कारण एमालेमाथि प्रहार भएको दावी समेत गर्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो ‘हामीमाथि किन प्रहार भएको छ भने संविधान बनाउन नचाहनेका विरुद्ध विजय हासिल गर्यौ, संविधान कार्यान्वयनमा झमेला खडा गर्नेहरुलाई राजनीतिको मुल धारमा ल्यायौ त्यसले गर्दा पनि हामीमाथि प्रहार भयो’ ।

उहाँले आगामी दिनमा समाजवादको लक्ष्य प्राप्तीका लागि हरेक देशभक्त र विकासप्रेमी शक्तिसँग सहकार्य गर्दै पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिने पनि बताउनुभयो । उहाँले दशौ महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र कार्यभारका आधारमा पुसको पहिलो साताबाट देशव्यापी संगठन सुदृढीकरण अभियान अघि बढाउने समेत बताउनुभयो ।

Back to top button