वर्तमान राजनितीले कोरेको बाटो र हिड्नुपर्ने बाटो

रिता न्यौपाने ।

१. राजनिती आफैंमा एक व्यापक शब्द हो । राजनिती गरेपनि नगरेपनि सवैले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रयोग गर्ने शब्द राजनिती हो भन्दा फरक पर्दैन । बुझ्नेले नितीहरुको राजा का रुपमा लिने राजनितीलाई नबुझ्नेहरुले फोहोरी खेलको संज्ञा समेत दिने गरेका छन् । राजनिती सेवा हो तर कसैको लागि पेशा बनेको समेत अनुभूति हुने गरेको छ । मदन भण्डारी, वीपी. कोइराला, मनमोहन अधिकारी, गणेमान सिंहलगायतका नेताले गरेको राजनीती अनि अहिलेका नेताले गरेको राजनीतीमा धेरै फरक महशुष हुने गर्दछ । हिजो गर्ने राजनिती देश र जनताका लागि थियो भने अहिले धेरैजनाको राजनीती आफू र आसेपासे नाता–गोताको संरक्षण र भरणपोषणमा केन्द्रीत देखिन्छ । अझ भननौं स्वार्थकेन्द्रित राजनिती हाबी भएको देखिन्छ, जहाँ सेवा भन्दा पनि ठूलो बिषय लाभ प्राप्तिको संघर्षजस्तो।

२. आफ्ना मान्छेले चुनाव जिते ठेक्का–पट्टा पाउँछु भनेर गरिने राजनिती, फलानोले जित्यो भने मेरो लागि यति गरिदिन्छ भनेर आशाले गर्ने राजनिती, गणतन्त्रमा गर्न र बोल्न छुट छ भनेर कुतर्कसहित गरिने राजनिती, चित्रको तारिफ गरेर गरिने राजनिती, वेइमानहरुले इमानीहरुलाई थिच्ने राजनिती, व्यवहार भन्दा पनि बोलीले ठूलो बन्ने राजनिती, अझ भनौं अरूलाई नराम्रो देखाएर वा अरूलाई गाली गरेर आफू राम्रो बन्ने राजनीती । व्यवहारमा यी र यस्तै होड चलिरहेको देख्दा जनता र देशको लागि राजनिती गर्ने मान्छेको खोजी कसले गर्ला ? आम चासोको बिषय बन्न पुगेको छ ।

३. नेपाली समाज अहिले नकारात्मक शब्द, आलोचनात्मक भाषा, सामाजिक संजाल र साइवर आतंकवाट आक्रान्त छ। यद्यपी विरोध र विद्रोहको राजनिती गर्नेहरु नै पुरस्कृत र प्रोत्साहित हुने गरेको पाइन्छ । जुन दुःखद हो। अरूको अपमानमा आफ्नो सम्मान गर्ने, ब्यक्तिगत आरोपमा आफ्नो सामाजिक र राजनैतिक सुरक्षा र संरक्षण भएको अनुभूति गर्ने परम्पराको जग बसेको छ। कसैको मनमा घर बनाउन, विश्वासको एक इट्टा थप्न, आत्मीयताले जोड्न जुग लाग्छ, तर कसैको नजरबाट गिर्न र गिराउन, धोकाको एक धक्का दिन र शंकाको एक सुराकले नै सकिदिन कतिबेर लाग्ला र ? आखिर छिनमै सवै सकिन्छ ।

४. नबोल्ने सबै मानिहरूलाई एउटै तराजुमा घमण्डी भनेर जोखिदिने, आफ्नो पक्षधर भए हरेक मान्छे राम्रो, नभए राम्रो मान्छेलाई पनि खोट लगाउँदै हिन्ने, आफ्नो दृष्टि अनुसार हरेक मानिसलाई व्याख्या गर्ने, आलोचना गर्ने मात्र नभई विरोध ठानी हाल्ने, प्रसंसा र चाकडी गर्ने बितिकै आफन्त ठान्ने, तर केही समय टाढिन पुग्दा दुस्मनै सम्झने रोगहरू यतिबेला राजनिती गर्नेहरुमा झाँगिदै गएको पाइन्छ।

५. आफ्नो स्वार्थ र खुसी कम, अनि जनताको भलाई र खुसी ज्यादा सोच्नुपर्ने राजनिती गर्नेले नेताले । रोग लाग्दा औषधी उपचारको प्रबन्ध र शिक्षाको गुणस्तर बृद्धि, मल नपाएर छटपटिएका किसानको पीडा, उत्पादन बेच्न नपाएर रोडजाम गर्न वाध्य उखु किसान, श्रम बेच्न दैनिक १६-१७ सय को संख्यामा खाडि मुलुक जान बाध्ये युवापुस्ता, असुरक्षित सीमाजस्ता तमाम बिषयमा गाम्भिर्यता खै ? शुरू भई पूरा हुनबाँकी योजनालाई पूर्णता दिने पिर नभइ सिंहदरवारको अधिकार प्रयोग हुँदै गाउँमा पुर्‍याउने व्यवस्थालाई डाँडैं पिच्छे प्रदेश, झ्यालै पिच्छे मन्त्रालय, एक घर एक सांसद, एक टोल एक मन्त्री राखेर राजनिती गर्नेलाई रोजगारी दिने, देश बनाउने भन्दा पनि ब्यक्ति बनाउने लक्ष्यको राजनितीले तिक्तिता बढ्दै छैन र ?

मान्छेको घर व्यवहारमा समस्या आए दाजुभाई अलग्गिन्छन् । विचार मिलेन भने साथीभाई छुट्टिन्छन् अनि सिद्धान्त मिलेन भने पार्टीबाट विभाजन हुन्छन, यी नौला कुरा होइनन् । तर, आजकाल विचारको राजनिती कता–कता रुमल्लिएको आभाष हुन्छ। ए भन्ने मान्छे आफूले मागेको पद पाइन् भनेर राजनिती छोड्छु भनेर धम्क्याउँछ, बि भन्ने मान्छे आफ्नो छोराछोरीलाई जागिर लाइदिएन भनेर पार्टी छोड्छु भन्छ। सि भन्ने मान्छे डी भन्ने मान्छेमा भएको क्षमता हेर्दैन उसले पायो मैले पाइन् भनेर राजनिती छोड्ने धम्कि दिन्छ । अर्को ई लाई कसैले हेप्यो भन्ने लाग्छ जीलाई नकजिकिएको सम्बन्ध हुँदा पनि अवसर पाइन वा ठेक्का पट्टा पाइएन भनेर पाटर्ठी वा सम्बन्ध टुटाउने चेतावनी दिन्छ । मैले यो पार्टीले देश र जनताका लागि कहिल्यै सोच्ने भएन, त्यसकारण पार्टी छोडेको वा छोड्छु भन्ने मान्छे पाएकै छैन। नेता र कार्यकर्ताको भन्दा जनताको मनमा बस्न सकियो भने पार्टीले मन पराउँछ भन्ने कुरा हेक्का राख्ने होइन कि रौसी र मासुको ठेक्काबाट चुनाव जितिन्छ। नेताको वरिपरि गणेशजी ले शिव पार्वतीलाई घुमेपछि पहिलो पूजा गरेजस्तै गर्न सक्दा लाभ प्राप्त हुन्छ भन्ने आत्मिश्वासले राम्रै जरा गाडेको छ।

लौह पुरुष गणेमानको ‘जनता भनेको भेडा हुन, म जेल परे जनताले ताली बजाए, म जेलमुक्त भएँ जनताले ताली बजाए’ भन्ने भनाई सार्थक लाग्छ। घर, चौक, चौतारा, निजी, सार्वजनिक सबै ठाउँमा भन्छन देश बिग्रियो, प्रदेश बिग्रियो, पालिका बिग्रियो, वार्ड बिग्रियो, यसले काम गरेन, त्यसले काम गरेन, यसले घुस यति खायो, सेटिङ्ग गर्‍यो, यो गर्‍यो, त्यो गर्‍यो आदि। अनि यी सबै गराउन वाध्य बनाउने जनता होइन ? चुनावको बेलामा क्षमता खोज्ने भन्दा चना, मासु, रक्सी कसले खुवाउँछ त्यो खोज्ने, चुनाव महङ्गो बनाउने, विभिन्न मागहरु राख्ने, आफ्नो फटाहाको तारिफ गर्ने अर्को राम्रोको ढाड सेकाउने अनि फेरि केही गरेनन् भनेर भन्न पाइन्छ ? सिद्धान्त बुझेकाले आफ्नो पार्टीलाई भोट हाल्छन, गाउँ समाज जनता र देशको भलो चाहनेले सहि व्यक्तिलाई भोट हाल्ने हो भने चुनाव महङ्गो हुँदैन। चुनाव महङ्गो भएन भने नेताले कमाउनकै लागि ध्यान केन्द्रित हुनुपर्दैनथ्यो, अनि पो देशमा विकासको मूल फुट्छ देश विकास हुन्छ। नत्र त एउटा पार्टी सत्तामा जान्छ अर्कोले सत्तोसराप गर्छ । प्रकृया यसरी नै चलिरहन्छ, जनता हेरेको हेरै ।

राजनीतीमा यसैगरि पछिल्लो समयमा मौलाएको बिषय हो अरुको अस्तित्व स्वीकार गर्न नसक्ने समस्या । आफू भए सहि अरु भए गलत, आफुले पाए योग्य अरूले पाए अयोग्य,आफन्तले पाए जिताउन लाग्ने अरूले पाए हराउन लाग्ने अझै भनौं आफूले भनेको मान्ने भए सहि, नमान्ने भए असह्य, यस्तो भावनाले सबै पार्टीहरू आक्रान्त बनेका छन्, छुटकारा पाउने सम्भावना पनि देखिदैन । अन्ततः आखिरे हुने भनेकै असल सकिने र खराब झुल्किने न हो ।

नेपाली राजनीतीमा मौलाउँदै गएका खराब संकेतहरु हटाउन एक व्यक्ति, एक पार्टी लागेर सम्भव छैन । यसका लागि त एकले अर्कालाई गाली गरेर वा नीचो देखाएर गर्ने राजनिती भन्दा अरु भन्दा आफू यी कुरामा सक्षम छु भन्ने भावनाको विकास र व्यवहारले पुष्टि गर्दै अघि बढ्नुपर्छ । सबैको अस्तित्व स्वीकार गर्ने सामाथ्र्य राख्नुपर्छ । हरेक उम्मेदवारलाई नातागोता र निकटताको नजरले नहेरी सिङ्गो पार्टीका रुपमा हेर्न सक्नुपर्छ । यस्तै नेतृत्वले उम्मेदवार चयन गर्दा कुमार र गणेश प्रवृत्तिका मान्छे छुट्टयाउन सक्नुपर्छ । जसले जनताका भावना बुझ्छन्, जनताको सुख दुःख सधै साथ दिएका छन्, पार्टी र जनताका लागि खटेका छन् तिनलाई अगाडी बढाउने हिम्मत राख्नुपर्छ ।
त्यसो त युवाहरुमा बुन्दै गरेको राजनीती तर्फको यात्रा र चासो निश्चय नै सकारात्मक र उत्साहजनक छ तर त्यसलाई टिकाइरहनु असाध्यै चुनौतीपूर्ण छ। आयआर्जनका वैकल्पिक मार्गहरू दर्साइदिने युवालाई प्रोत्साहित गर्नु पर्छ । अन्यथा आर्थिक सक्षमता र आत्मनिर्भरता बिनाको राजनितीले या त वितृष्णा जगाउँछ । कि त भ्रष्टाचार तर्फ उन्मुख गराउँछ । राजनीती शुद्धिकरणको सपना सार्थक पार्ने हो भने पार्टी भित्र निर्देशन हैन, पत्रचार गर्ने गरौं । इन्चार्ज होइन, सहजकर्ता भनौं । केन्द्र होइन भूगोल बलियो बनायौं । तोक्न होइन सोध्न थालौं । हावादारी कुरा हैन, राजनिती कुरा गरौं । लामा भाषण भन्दा सामुहिकता खोजौं । सामाजिक सम्वन्ध दरिलो बनाऔं । पार्टी बाहिर पनि मान्छे छ्न भन्ने नबिर्सौं, तरिका बदलौं, धेरै कुरा फेरिन्छ।

अब राजनितीलाई साच्चिकै शुद्धिकरण गर्ने वा साच्चिकै नीतिहरुको राजाको रूपमा स्थापित गर्ने, राजनीती सम्भावनाको खेल हो भनेर प्रमाणित गर्ने हो भने जनताले नै जागरुक हुन जरुरी छ, सचेतना फैलाउन जरुरी छ, एकपटक चुनावी समयमा खर्च गर्नेलाई होइन,आएको बजेटलाई उचित ठाउँमा खर्च गर्नेलाई नेतृत्वमा ल्याउन जरुरी देखिन्छ। अरूको खेदोपाइलो गरेर आफू राम्रो वन्न खोज्ने भन्दा आफ्ना आगामी उत्कृष्ट कार्य योजना पस्किनेलाई नेतृत्व दिनुपर्छ। सहि समयमा सहि बाटो हुँदासम्म हो अन्त्य र गन्तव्य थाहा हुने, बाटो बिराएपछि त टाउकोमा दुई हात राखी आराम गर्नु सिवाय केही हुनेछैन ।

नेपालको जय होस नेपालीको जय होस।

Back to top button