राष्ट्रिय सभा निर्वाचनका लागि सुदुरपश्चिमबाट एमालेका ९ जनाको नाम सिफारिस

कैलाली । राष्ट्रिय सभा निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशबाट एमालेका तर्फबाट ९ जनाको नाम सिफारिस भएको छ । खुल्ला, महिला र दलित कोटाबाट ९ जनाको नाम सिफारिस भएको एमाले सुदूरपश्चिम प्रदेशका सचिव धर्मराज पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार खुल्लाबाट तीन जना, महिलाबाट तीन जना र दलितबाट पनि तीन जनाको नाम सिफारिस भएको हो । खुल्लाबाट अछामका कृष्ण प्रसाद जैसी, कैलालीका डिल्लीराज भट्ट र कञ्चनपुरका राजेन्द्रसिंह रावलको नाम सिफारिस भएको हो ।

दलित तर्फबाट बैतडीका नरेश कुमार विश्वकर्मा, दार्चुलामा लाली राम लुहार र बाजुराका काशीबहादुर विक रहनुभएको छ । महिला तर्फबाट बझाङकी भारगथी कुमारी चन्द,कैलालीकी सन्तोष कुमारी शर्मा थापा र डोटीकी ठगु महराको नाम सिफारिस भएको छ ।

सुदूरपश्चिममा तीन दलका तीन जनाको चार वर्षीय कार्यकाल पुरा भएको छ । कार्यकाल पुरा हुनेमा डडेल्धुराबाट एमालेका चक्र स्नेही, कञ्चनपुरबाट कांग्रेसका तारा देवी भट्ट र अछामबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर रहनुभएको छ ।

सुदूरपश्चिम प्रदेशमा माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुने छ ।

Back to top button