मामा भान्जाको कृषि फार्ममा ८ करोड लगानी, ८ सय किलो दूध उत्पादन

विराटनगर । गाउँमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित विराटनगरका मामाभान्जाले कृषि उद्यममा हात हाल्नु भएको छ ।

८ करोड रुपैयाँ लगानीमा विराटनगर महानगरपालिका–१२ का मामा गजेन्द्र शर्मा बञ्जरा र भान्जा सञ्जय चापागाईंले वडाको दरैया बस्तीमा कृषि उद्यम सञ्चालन गर्नु भएको हो । दुवैले ८ महिना अघिदेखि फार्म सञ्चालन गरीरहनु भएको छ । फार्ममा हाल ५० वटा गाई छन् ।

फार्मले दैनिक ८०० लिटर दूध उत्पादन गर्न थालेको छ । आगामी वैशाख महिनादेखि दैनिक १ हजार ५०० लिटर दूध उत्पादन गर्ने गरी कामलाई तीब्र बनाइएको चापागाईंले बताउनु भयो ।

फागुनसम्ममा ५० माउ गाई थप गरेर १ हजार ५०० लिटर दूध बेच्ने उहाँले बताउनु भयो । मामाभान्जाको फार्मको नाम भने ‘बञ्जरा कृषि फार्म’ राखिएको छ । अहिले फार्ममा २५–४२ लिटरसम्म दूध दिने होलस्टेन जर्सी गाईहरू छन् । मामा गजेन्द्र शर्मा चीनमा रोजगारीमा हुनुहुन्छ ।

केही दिनभित्रै थप १५ वटा गाई भारतको पञ्जाबबाट आइपुग्ने फार्मले जनाएको छ । ३ चरणमा ५० करोड लगानी गर्ने लक्ष्य राखेर ८ महिनाअघि शुरू गरेको कृषि फार्मले अटोमेटिक प्रविधिमा आधारित डेरी उद्योग सञ्चालनको तयारी समेत शुरू गरेको छ ।

गाईलाई घाँस तथा पानी खुवाउने, गोबर सोहोर्ने, दूध दुहुने लगायतका काम उपकरणबाट गरिने फार्म सञ्चालक सञ्जयले बताउनु भयो ।

फार्म पूर्णरूपमा सञ्चालनमा आएपछि दैनिक ५ हजार लिटर दूध र ५०० किलोग्राम तरकारी उत्पादन गरी बजारमा पठाउने योजना फार्मको रहेको छ । ५ बिगाहा जमिनमा फैलिएको फार्ममा दूधसँगै तरकारी समेत उत्पादन गर्ने गरिएको छ ।

दैनिक ५ हजार लिटर दूध र ५०० किलोग्राम अग्र्यानिक तरकारी उत्पादन गरेर स्थानीय बजारमै पुर्‍याएर बेच्ने गरिएको छ । २५ जनाले दैनिक रोजगारी पाइरहेका सञ्जयले बताउनु भयो ।

दुग्धजन्य वस्तुको उत्पादन, गाईको ब्रिडिङ, दानाको रूपमा प्रयोग हुने साइलेज पूर्ण क्षमतामा उत्पादन गरी कृषकहरूलाई बिक्री गर्ने योजना रहेको सञ्जयले बताउनु भयो । अग्र्यानिक गड्यौले मल उत्पादन गर्ने तयारी गरिएको समेत उहाँले बताउनु भयो ।

तेस्रो चरणमा सन् २०२३ सम्म कूल लगानी ५० करोड रुपैयाँ पुर्‍याइने सञ्चालकको तयारी छ । ‘हाइब्रिड’ बाच्छी उत्पादन गरेर किसानलाई उपलब्ध गराउने लक्ष्य समेत लिएको उहाँको भनाइरहेको छ ।

गाईको आहारका लागि देवानगञ्जका किसानले ५० बिघा खेतमा लगाएको मकै किनेर ल्याएर साइलेज बनाउन दिने गरेका छन् । स्थानीय किसानले वर्षमा २ पटक मकैखेती गर्ने गरेका छन् । फार्मले मकै काट्ने र साइलेज बनाउने ‘मोबाइल मशिन’ किसानको खेतमै पुर्‍याउने गरेको छ । खेतमा रोपेको मकै ८५औं दिनमा काटेर साइलेज बनाइरहेको र आगामी दिनमा थप क्षेत्रफलका लागि किसानसँग सम्झौता गर्ने तयारी भइरहेको चापागाईंले बताउनु भयो ।

भारतको पंजावबाट १ जना पशु डाक्टर समेत फार्मले ल्याएर राखेको छ । फार्मबाट गाई तथा बाच्छीहरू किनेर लाने किसानलाई निःशुल्क डाक्टरको सेवा समेत उपलब्ध गराउने गरेको छ ।

Back to top button