जन्ती बोकेको टिपर पल्टिँदा दुईको मृत्यु‚ २४ घाइते

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–५ मा जन्ती चढेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु र २४ जना घाइते भएका छन्।

गएराति सवा ८ बजे वाणेगाउँबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कटारी नगरपालिका–२ का १९ वर्षीय दीपेन्द्र कुँवर र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकाले काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरुको विराटनगर, कटारी र सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बेहुला र बेहुली भने अर्को गाडीमा रहेको बताइएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Back to top button