प्रेस युनियन सुनसरीलाई कांग्रेस नेता रोहित प्रसाईंद्धारा जग्गा प्रदान

इटहरी । नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि नेपाली कांग्रेसका नेता रोहित प्रसाईंले जग्गा दिनुभएको छ ।

इटहरीका प्रसाईंले बिहान एक कार्यक्रमका बीच इटहरी १७ स्थित पूर्व–पश्चिम राजमार्गको मुख्य हाइवेमा साढे ६ धुर जग्गाको धनीपूर्जा प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।

कांग्रेस महाधिवेशन प्रतिनिधि प्रसाईंले प्रेस युनियन कांग्रेसको शुभेच्छुक संस्था भएकाले स्वर्गीय आमाबुवाको स्मृतिमा जग्गा प्रदान गरेको बताउनुभयो ।

उहाँले युनियनलाई आफ्नै कार्यालयबाट कार्य सम्पादन गर्नका लागि सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै भवन निर्माणको काम तुरुन्तै अगाडि बढाएर चाँडै निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले युनियनका लागि थप सहयोग समेत गर्ने बताउनुभएको छ ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले देशका ७७ जिल्लामध्ये चितवनमा मात्रै युनियनको भवन रहेकाले अब सुनसरीमा भवन निर्माण हुने बताउनुभयो । नक्सा बनाउने काम भइरहेको भन्दै उहाँले दुई वर्षभित्रमा भवन निर्माणको काम सक्ने गरी काम अघि बढाइने बताउनुभयो ।

कार्यक्रममा युनियनको भवन निर्माणका लागि होटेल व्यवसायी सङ्घ इटहरीको तर्फबाट अध्यक्ष जीवन पराजुलीले २५ बोरा सिमेन्ट, उद्योग वाणिज्य संघ इटहरीका सदस्य नवराज काफ्लेले ५१ हजार बराबरको इट्टा, रोटरी क्लबकी अध्यक्ष सबिना कोइराला (शोभा) ले २१ हजार नगद, नेपाली कांग्रेसका नेता श्याम रिजाल र गोकुल प्रसाईंले २५–२५ बोरा सिमेन्ट सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

Back to top button