ढाडिएकाहरुको गठबन्धन बाँडिचुँडी खानकै लागि मात्र हो : ओली

इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन सरकारमा बाँडीचुडी खानका लागि मात्र बनेको आरोप लगाउनुभएको छ ।

सुनसरीको इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,‘सत्तारुढ गठबन्धन भनेको खाएर, चुसेर ढाडिएकाहरुको गठबन्धन हो, यो गठबन्धन बाँडिचुडी खानका लागि मात्र बनेको हो ।’

नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रलाई कांग्रेसको जिउमा भन्किएका झिंगा धपाउने झम्के पछ्यौरी मात्र भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले वडामासमेत एमालेसंग एक्लै चुनाव लड्न नसकेर ५ दलले गठबन्धन गरेको बताउनुभयो ।

गठबन्धनलाई भोट दिन नहुने भन्दै उहाँले भन्नुभयो,‘ बाँडिचुँडी खानकै लागि भएको गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला गर्ने जिम्मा मतदातामा नै छ ।’

इटहरीको विकासको जिम्मा आफुले लिने बताउँदै ओलीले भन्नुभयो,‘तपाईंहरू याम सुब्बा र सङ्गीता चौधरीलाई जिताएर देखाउनुस, इटहरीको विकासको जिम्मा म लिन्छु ।’ एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको घोषणा पत्रमा मान्छे देखिने तर एमालेको घोषणा पत्रमा विकास देखिने बताउनुभयो ।

Back to top button