चीन र दक्षिण अफ्रिकाको राजदूतकोलागि विष्णुपुकार श्रेष्ठ र दानबहादुर तामाङको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रिपरिषदले सिफारिस गरेका चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत तामाङको नाम अनुमोदन गरेको हो।

प्रस्तावित दुवै राजदूतको उजुरी नपरेको र उपयुक्त लागेकाले समितिले सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

समितिको बैठकमा डेनमार्कका लागि प्रस्तावित राजदूत राम सुरज राय यादवमाथि परेको उजुरीका सम्बन्धमा छानबिन गर्न समितिका सदस्य जितेन्द्र देव संयोजक तथा निरुदेवी पाल र शिवकुमार मण्डल सदस्य रहेको कार्यदल गठन गरिएको छ।

कार्यदलले २ दिनभित्र सो सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्ने र त्यसैको आधारमा प्रस्तावित राजदूत रायको पनि सुनुवाई गर्ने समितिका सभापति कर्णले बताउनुभएको छ ।

समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत बासुदेव मिश्रको पनि उजुरी परेकाले आज सुनुवाई गर्न नसकिएको स्पष्ट पारेको छ। समितिको अर्को बैठक भोलि बिहान साढे ८ बजेका लागि बोलाइएको छ।

Back to top button