नवलपुर-२ बाट संघीय उम्मेदवार बन्ने उद्योगपति विनोद चौधरीको तयारी

काठमाडौं । उद्योगपति विनोद चौधरीले नवलपुर –२ बाट संघीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

नवलपुर १ बाट कांग्रेस नेता शशांक कोइराला लड्दै आएकाले उहाँको रोजाइमा सोही जिल्लाको अर्को क्षेत्र परेको छ । नवलपुर १ मा आफ्ना लागि सहज नहुने देखेपछि उहाँले क्षेत्र नम्बर २ मा इच्छा देखाउनुभएको हो । चौधरी नवलपुर १ को मतदाता हो ।

यस्तै, २०७० सालमा शशांकसँग प्रतिस्पर्धा गर्नका लागि एमालेले दिएको टिकट अस्विकार गरेको उहाँले दाबी गर्नुभयो । शशांकसँग पुरानो सम्बन्ध तथा आफ्नो कांग्रेसप्रतिको आस्था पुरानो भएकाले प्रतिस्पर्धा नगरेको चौधरीले बताउनुभयो । नवलपुर १ को टिकट माग गरि शशांकसँग द्वन्द्व बढाउन नचाहेको चौधरीको भनाइ थियो ।

समानुपातिक सांसद हुँदै आउनुभएका उहाँले यसपटक प्रत्यक्ष उम्मेदवारी दिने सोच बनाएको बताउनुभयो। प्रत्यक्षमा प्रतिस्पर्धा गर्ने मनस्थितिसहित उहाँले अब समानुपातिकमा नबस्ने बताउनुभयो ।

‘समानुपातिकमा मात्रै कति बस्ने? अब प्रत्यक्ष चुनाव लड्छु ।’ पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘मेरो बाँकी जीवन अब राजनीति नै हो । कांग्रेसकै राजनीति गर्छु ।’

उहाँले थप्नुभयो, ‘नवलपुर–२ मा कांग्रेस हार्दै आएको ठाउँ हो । त्यो क्षेत्र पनि मेरा लागि उपयुक्त नै हुन्छ, सक्रिय राजनीति गर्नकै लागि वडा वडामा पुगेको छु ।’

पार्टीमा संस्थापन पक्षका चौधरी टिकट प्राप्त गर्नेमा ढुक्क देखिनुभएको छ । यस क्षेत्रमा दाबी गर्ने केन्द्रीय तहका नेता अन्य नभएकाले पनि उहाँका लागि थप सहज देखिएको छ ।

नवलपुर २ मा गत निर्वाचनमा नेकपा एमालेका तिलबहादुर महत क्षेत्री विजयी हुनुभएको थियो। उहाँले ३९ हजार ५३ मत ल्याउँदा कांग्रेसका विष्णुकुमार कार्कीले ३७ हजार ७ सय २० मत प्राप्त गर्नुभएको थियो ।

१४ औं महाधिवेशनमा चौधरी मधेसी कोटबाट केन्द्रीय सदस्य बन्नुभएको थियो । फरक फरक क्षेत्रमा सफल व्यक्तिहरुलाई पार्टीको केन्द्रीय तहमा आउने वातावरण बनाउनुपर्ने उहाँको धारणा छ ।

यस्तै, विज्ञता प्राप्त व्यक्तिहरुलाई कांग्रेसमा प्रवेश तथा प्रतिस्पर्धा गराउनका लागि पछिल्लो समय पार्टी केही खुकुलो भएको उहाँले बताउनुभयो ।

Back to top button