ई– रिक्सा र ब्याट्रीमा राजश्व छली, सरोकारवाला निकाय बेखबर

विराटनगर । इलेक्ट्रिक रिक्सा (ई– रिक्सा) तथा त्यसमा लाग्ने ब्याट्रीको आयात गर्दा विभिन्न किसिमले राजश्व छली भइरहँदा पनि सरोकारवाला निकाय बेखबर बन्दा यहाँका उद्योगीहरु समस्यामा परेका छन् । पछिल्लो समय बाह्य मुलुकबाट भित्रिने ब्याट्रीको करिब ५० प्रतिशत मूल्य घटाएर नेपाल भित्रने गरेको पाइएको हो ।

भन्सारमा न्यून मूल्यांकन गराएर भित्रिएका ब्याट्री देशका विभिन्न स्थानमा पुग्ने गरेका छन् । नेपालमा बंगलादेश र चीनबाट ब्याट्री भित्रने गरेको ब्याट्रि उद्योगका सञ्चालकहरु बताउँछन् । बंगलादेशबाट भित्रने काँकडभिट्टा नाकाबाट भित्रने गर्छ । तर बंगलादेशमै न्यूनतम करिब १०० डलर पर्ने ब्याट्री भन्सारमा ५० डलर देखाएर भित्रने गरेको हो ।

भन्सार विभागलाई उदृत गर्दै क्यापिल नेपाल अनलाईनले लेखेको छ,‘गत आर्थिक वर्ष नेपालमा १ लाख थान ई–रिक्साका ब्याट्री नेपाल भित्रिएको देखिन्छ । तीमध्ये ९० प्रतिशत न्यून मूल्यांकन र १० प्रतिशत मात्रै ‘जेन्युन’ तरिकाले भित्रिने गरेको देखिएको छ ।’ बुटवलको मणिरत्न मल्टी ट्रेडर्स प्रालिले ४ सय ३५ थान ब्याट्री ५० डलरका दरले भित्र्याएको छ ।

यसले बंगलादेशको कन्फिडेन्स ब्याट्रिज् लिमिटेडले उत्पादन गरेको ब्याट्री ल्याएको हो । उक्त कम्पनीले बनाएको प्रत्येक ब्याट्रीको न्यूनतम मूल्य ९१ डलर रहेको छ । तर सोहि कम्पनीले बनाएको ब्याट्री सुनसरीको दुहवीस्थित शुभलक्ष्मी इन्टरप्राइजेजले भने ६२ डलरका दरले ४ सय ६५ थान भित्र्याएको तथ्याङ्क छ ।

एउटै कम्पनीले उत्पादन गरेको ब्याट्री नेपालका दुई फरक–फरक क्षेत्रमा आयात गर्दा फरक–फरक मूल्यको प्रज्ञापनपत्र जारी भएको छ । दुवै संस्थाले ल्याएका ब्याट्री काँकडभिट्टा नाकाबाटै भित्रिएका हुन् । न्यूनबिजकीकरणमार्फत यसरी ब्याट्री भित्रिदा आफूहरुलाई समस्या भएको कुलायन ब्याट्री इण्डस्ट्रिजका सञ्चालक गिरेन्द्र कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समाचारमा आएजस्तै कर छलि गरेर ब्याट्री भित्रिदाँ यसले राज्यका सरोकारवाला निकायमाथि प्रश्न उब्जाएको छ, यसले एकातिर कर छली भइरहेको छ भने अर्को तिर बाँकी रकम कसरी पठाइन्छ भन्ने प्रश्न उब्जिएको छ ।’ करौडौं लगानी गरेर उद्योग सञ्चालन गरेका उद्योगीहरु घरबार बिहिन हुनुपर्ने अवस्था आउन लागेको भन्दै सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको उहाँले बताउनुभयो ।

राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, सम्पत्ति शुद्धिकरण विभाग, आन्तरिक राजश्व कार्यालयलगायतले ध्यान दिए यस्ता समस्या तत्काल समाधान हुने भन्दै कार्कीले त्यसो हुन नसक्दा भने कतै मिलेमतो त छैन भन्ने आशंका उब्जिएको बताउनुभयो ।

पछिल्लो समय देशभर ई–रिक्सा अर्थात सिटी सफारीहरुको विक्रि बढेसँगै सफारी र त्यसमा लाग्ने ब्याट्रीको आयात पनि बढेको छ । यसरी कर छलि गरेर भित्रिदा नेपालमा सञ्चालित आधा दर्जन ब्याट्रि उद्योगहरु धाराशायी बनेका छन् । अर्को तर्फ ट्रेडिङ गर्नेहरुले पनि सिटी सफारीका पार्ट्स ल्याएर आफैं एसेम्बल गरेर बेच्दा एसम्बल गर्ने उद्योगहरु समेत समस्यामा परेका छन् ।

सामान्यता एसम्बल गर्ने उद्योगले पार्ट्स ल्याएर एसम्बल गर्छन भने ट्रेडिङ गर्नेहरुले तयारी बस्तु आयात गरि विक्रि गर्छन् । तर यसलाई नियमन गर्ने निकाय बेखबर हुँदा उद्योगीहरु समस्यामा परेका हुन् । यसरी भित्रने सिटी सफारीहरुको समेत ग्राहकसँग एउटा मूल्य लिएर झण्डै आधा मूल्यको मात्र बिल दिने गरेको समेत गुनासो तिब्रतर छ ।

Back to top button