संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हो : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा नै पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

मंसिरमा हुने संघिय र प्रदेशको निर्वाचनपछि को प्रधानमन्त्री बन्ने भन्ने चर्चा भइरहँदा प्रचण्डले आफ्नो लागि प्रधानमन्त्रीभन्दा पनि लोकतन्त्र र संविधानको रक्षा मुख्य प्राथमिकता भएको बताउनुभएको हो ।

प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले राजनैतिक स्थिरताको लागि आफू लागि परेको बताउनुभयो।

‘म प्रधानमन्त्रीको रेसमा होइन, लोकतन्त्रको रक्षा, राष्ट्र र संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हो ,’उहाँले भन्नुभयो, ‘मैले चाहेको भए २०७४ को निर्वाचनपछि पाँचै वर्ष प्रधानमन्त्री हुने अफर मलाई थियो, त्यसपछि पनि पटक–पटक भयो, अहिले भर्खर पनि छ। प्रधानमन्त्री मुख्य कुरा होइन राजनैतिक स्थिरता हो।’

उहाँले लोकतन्त्रको सुदृढिकरण र आर्थिक विकासको वातावरण बनाउन आफूलाई समर्पित गरेको बताउनुभयो। उहाँले जनताको आर्थिक विकास र समृद्धिमा आफू लागेको बताउनुभयो।

आउँदो निर्वाचन लोकतन्त्रको लागि परीक्षा भएको उहाँको भनाई छ। ‘लोकतन्त्रको नयाँ परीक्षा मंसिर ४ को चुनाव हो, लोकतन्त्रको एउटा नयाँ खुड्किलो हो ,’ उहाँले भन्नुभयो, ‘फैसला तपाईहरुको हातमा छ।’

जनताले दिएको फैसला मान्य हुने उहाँले बताउनुभयो। उहाँले मंसिर ४ मा आफ्नो फैसला दिने वातावरण बनाउन सबैलाई आग्रह गर्नुभयो। प्रचण्डले नपाली पत्रकारिता जगतले मुलुकको राजनैतिक परिवर्तनको लागि अतुलनिय भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गर्नुभयो।

उहाँले राजनैतिक परिवर्तनमाथि हुने षड्यन्त्रप्रति चनाखो रहन पत्रकारलाई आग्रह गर्नुभयो। निर्वाचन लक्षित गरेर उहाँ अहिले चितवन केन्द्रित हुनुहुन्छ ।

Back to top button