थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७६३ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ५२ जनाको नतिजा पोजिटिभ आएको हो ।

७४५ नमुनाको पीसीआर परीक्षण गर्दा ४५ र एक हजार १८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सातजनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन ।

हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर १६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८७ हजार ४३८ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जनाएको छ ।

Back to top button