जनसंख्या भएको क्षेत्रमा विस्फोटक हतियार प्रयोग रोक्न ८० देश प्रतिबद्ध

जनसंख्या भएको क्षेत्रमा विस्फोटक हतियारको प्रयोग रोक्न संयुक्त राष्ट्रसंघ र रेडक्रसले समर्थन गरेको घोषणालाई डब्लिनमा भएको सम्मेलनमा ८० देशले पालन गर्ने प्रतिवद्धता जनाएका छन्। यद्यपि उक्त सम्झौता कानुनी रूपमा बाध्यकारी छैन।

तर ती राष्ट्रहरूले युद्धमा फसेका नागरिकलाई बचाउनका लागि शहरी तथा बसोवास भएको क्षेत्रहरूमा हतियारको प्रयोगलाई प्रतिबन्ध गर्न सहमत भएका छन्।

संयुक्त राज्य अमेरिकासहित आर्थिक रूपमा उन्नत राष्ट्रहरूको समूह जी–७ का सबै सदस्यहरू उक्त सम्झौतामा सहमत भएका छन् तर रूस र चीन भने यसबारे मौन छन्।

पछिल्ला दिनहरूमा युक्रेनका शहरी क्षेत्रहरूलाई लक्षित गर्दै रूसले आफ्नो बम विस्फोट अभियानका लागि व्यापक आलोचनाको सामना गर्नु परेको छ। जुनमा जेनेभामा संयुक्त राष्ट्रसंघको बैठकमा अन्तिम रूप दिइएको यो घोषणा आयरल्याण्डको नेतृत्वमा भएको तीन वर्षको परामर्शको परिणति हो।

‘जनसंख्या भएको क्षेत्रमा विस्फोटक हतियारको प्रयोगको विनाशकारी प्रयोगलाई हल्कारूपले लिन सकिँदैन,’ आयरल्याण्डका विदेशमन्त्री साइमन कोभेनीले सम्मेलनमा भन्नुभएको छ ।

‘हामी यो राजनीतिक घोषणा नागरिकको संरक्षणको मौलिक महत्त्वमा सन्देश पठाउँदै वर्तमान र भविष्यका द्वन्द्वहरूका लागि सान्दर्भिक होस् भन्ने चाहन्छौं,’ उहाँले भन्नुभयो।

रेडक्रसको अन्तरराष्ट्रिय समिति (आईसीआरसी) का नयाँ अध्यक्ष मिर्जाना स्पोलजारिकले पनि यो दस्तावेज समस्याको गम्भीरतालाई स्वीकार गर्न र यसलाई सम्बोधन गर्न ठोस कदम चाल्ने प्रतिबद्धता गर्ने प्रकारको पहिलो दस्तावेज भएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघ र आईसीआरसीले वर्षौंदेखि राष्ट्रहरूलाई नागरिकहरू बस्ने र भेला हुने ठाउँमा हतियार प्रयोग नगर्न प्रतिबद्ध हुन आह्वान गर्दै आएको छ। सिरिया, इराक, यमन र हालै युक्रेनमा भएका युद्धहरू लगायत शहरी द्वन्द्वका तथ्यांक र अनुसन्धानले घोषणापत्रलाई थप सान्दर्भिक बनाएको छ।

गत दशकको द्वन्द्वबाट संकलित संयुक्त राष्ट्रसंघको तथ्यांकले शहरी क्षेत्रमा विस्फोटक पदार्थका कारण हुने मृत्युमध्ये ९० प्रतिशत सर्वसाधारण नागरिकको रहेको देखाएको छ भने जम्मा १० प्रतिशत सैन्य हताहती हुने गरेको पाइएको छ।

यस्तै, जर्मनीमा शरण खोज्न एलेप्पोमा लडाइँबाट भागेका अपागंता अभियानकर्ता र सिरियाली शरणार्थी नुजीन मुस्तफाले सम्मेलनलाई भने, ‘जब निहत्था नागरिकहरू माथि बमबारी हुन्छ। त्यसले उनीहरूको जीवन, शहर र घर मात्र गुमाउँदैन‚ सिङ्गो जीवन र सन्ततिको भविष्यको यात्रा पनि गुमाउँछन्।

म तपाईंलाई यो प्रतिबद्धताको सम्मान गर्न प्रोत्साहित गर्दछु किनभने द्वन्द्व क्षेत्रहरूमा बसोवास गर्ने मानिसहरू जो विस्फोटक हतियारको शिकार भएका छन् तिनीहरूलाई अपेक्षा, आवश्यकता र लिखित प्रतिबद्धता मात्र होइन त्यसको कार्यान्वयनको खाँचो छ ।

Back to top button