चितवन–२ (१) मा एमाले र ३ (१) मा राप्रपा विजयी

भरतपुर । मंसिर ४ गते भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । चितवन क्षेत्र नम्बर २ (१) र ३(१) को मत परिणाम आएको छ ।

प्रदेशसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २(१) मा कृष्णप्रसाद सिलवाल विजयी हुनुभएको छ । उहाँ १ हजार २ सय ४० मतान्तरले विजयी हुनुभएको हो । उहाँले १६ हजार ५ सय मत प्राप्त गर्दा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका घनश्याम दाहालले १५ हजार २ सय ६० मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका रुक्मागत पोख्रेलले ५ हजार १ सय ९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत विनोद अधिकारीले जानकारी दिनुभयो । यस क्षेत्रमा ४३ हजार ९७ मत खसेको थियो । जसमा ३ हजार ५० मत वदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै चितवन क्षेत्र नं ३ (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरबहादुर तामाङ विजयी हुनुभएको छ । तामाङले नेपाली कांग्रेसका प्रा. डा. सूर्यकान्त घिमिरेलाई २ हजार ८ सय ५७ मतले पछि पार्दै विजयी हुनुभएको हो । आज बिहान सकिएको प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना अनुसार १७ हजार ८ सय १३ मतका साथ तामाङ प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको हो ।

उहाँको निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका प्रा. डा. सूर्यकान्त घिमिरेले १४ हजार ९ सय ५६ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का कृष्ण भुर्तेलले ११ हजार ६ सय २३ मत पाउनुभएको छ । यस क्षेत्रमा ८ जना उम्मेदवार रहेका थिए । क्षेत्र नम्बर ३ (१)मा ५० हजार २ सय १२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Back to top button