सत्ता गठबन्धनको बैठक बस्दैः निर्वाचनको समिक्षा गर्दै सरकार गठनका विषयमा छलफल हुने

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

बैठकमा निर्वाचन परिणामको समीक्षा गर्दै सरकार गठनका विषयमा समेत छलफल हुने बताइएको छ । पाँच दलीय गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५७ र माओवादी केन्द्रले १८ स्थानमा विजयी भएका छन्। एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजय हासिल गरेका छन् ।

यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले गठबन्धनकै नेतृत्वमा आगामी नयाँ सरकार बनाउने सम्बन्धमा विभिन्न चरणमा छलफल गरिसकेको बताएका छन्।

Back to top button