प्रेस युनियन प्रदेश एकको अध्यक्षमा लुइँटेलद्वारा उमेदवारी घोषणा

विराटनगर । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनका नेता पत्रकार कुमार लुइँटेलले युनियनको प्रदेश– १ को अध्यक्ष पदमा उमेदवारी घोषणा गर्नुभएको छ ।

विराटनगरमा रहेका युनियन आवद्ध अग्रज पत्रकार, जिल्ला कार्यसमितिका पदाधिकारी तथा युनियनका पार्षदहरुको भेला आयोजना गरी लुइँटेलले उमेदवारी घोषणा गर्नुभएको हो ।

दुई दशकदेखि पत्रकारितामा कृयाशिल लुईटेलले युनियनको मोरङ जिल्ला अध्यक्षमा एक कार्यकाल जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । बाह्रखरी अनलाइनको प्रदेश संयोजकको जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँले अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको प्रदेश ब्युरो प्रमुखसहित विभिन्न सञ्चारमाध्यममा काम गर्नुभएको छ ।

आफ्नो उम्मेदवारी वैचारिक पत्रकारितालाई बढावा दिंदै व्यवसायिकता अभिवृद्धिका लागि रहेको बताउनुभएका लुईटेलले पत्रकारितामा हालसम्म प्राप्त गरेको अनुभवलाई सांगठनिक जिम्मेवारीका माध्यमबाट थप बढवा दिने बताउनुभएको छ ।

भेलामा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर एकका अध्यक्ष लिलावल्लव घिमिरे, प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, युनियनका पूर्व पूर्वाञ्चल उपाध्यक्ष शेखर रेग्मी, पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष दिपक दाहाल, महासंघ मोरङका पूर्वअध्यक्ष विक्रम निरौला, युनियन मोरङका पूर्वअध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ, कार्यवाहक अध्यक्ष कौशल निरौलालगायतको सहभागीता थियो ।

Back to top button