महानगरलाई सफा र व्यवस्थित बनाउन सामूहिक प्रतिबद्धता

विराटनगर । प्रदेश–१ को राजधानी विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले सामूहिक प्रतिबद्धता जनाउनुभएको छ ।

विराटनगर महानगरपालिकाको विशेष पहलमा भएको विशेष बैठकमा सहभागी मोरङका प्रजिअ काशीराज दाहालसहित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।

जिल्ला प्रशासन कार्यालयको नियमित बैठकलाई महानगरकै आग्रहमा पहिलोपटक प्रशासन कार्यालयभन्दा बाहिर राखिएको प्रजिअ दाहालले जानकारी दिनुभयो ।

विराटनगर राजनैतिक, आर्थिक नगर मात्रै नभएर प्रदेशको राजधानी भएकाले सफा, सुन्दर र व्यवस्थित बनाउन आफू र अन्य कार्यालयहरूको तर्फबाट प्रजिअ दाहालले प्रतिबद्धता जनाउनुभयो । उहाँले बजेट हुने कार्यालयले आफैं रंगरोगन गर्न र नभएकाले महानगरसित समन्वय गरेर रंगरोगन गर्न समेत आग्रह गर्नुभयो ।

महानगरका मेयर नागेश कोइरालाले विराटनगरका सबै सरकारी कार्यालय अगाडि सफा राख्न, वृक्षारोपण गर्न र रंग उडेर कुरुप बनेका भवनमा रंग लगाउन आग्रह गर्नुभयो । मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउन आफूले अभियानकै रुपमा अगाडि सारेको बताउनुभयो ।

विराटनगर अब यथास्थितिमा बस्न नसक्ने भन्दै उहाँले सफा र व्यवस्थित बनाउने दायित्व सबैकोभएको बताउनुभयो । महानगर क्षेत्रभित्रका सरकारी कार्यालय भवन वर्र्षाैंदेखि रंगरोगन नगर्दा कुरुप देखिन्छन् ।

उपमेयर शिल्पा निराला कार्कीले पनि विराटनगरलाई सफा र सुन्दर बनाउने महानगरको अभियानमा साथ दिन आग्रह गर्नुभयो । सबै क्षेत्रको सहकार्य र समन्वयले मात्रै विराटनगर सफा र व्यवस्थित हुने उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बैठकको उद्देश्यमाथि प्रकाश पार्दै सफाईसँगै राजस्व अभिवृद्धिका लागि महानगर निर्मम रुपमा प्रस्तुत भइरहेको बताउनुभयो । कोइरालाले नक्सा पास नगरेका भवन र पर्खालको नक्सा पास गराउन आग्रह गर्नुभयो ।

विराटनगर–३ का वडाध्यक्ष तथा महानगरको वातावरण तथा सरसफाई समितिका संयोजक वासुबहादुर बस्नेतले सरसफाईमा सुधार आएको चर्चा गर्नुभयो । उहाँले सरसफाईसँगै महानगरले हरियालीलाई पनि प्राथमिकता दिएको बताउनुभयो ।

सरसफाई र पार्किङका विषयमा महानगरको सरसफाई शाखा प्रमुख पुनम दाहालले जानकारी गराउनुभयो । राजस्व संंकलन अभियानका बारेमा राजस्व महाशाखा प्रमुख सरोज गौतमले प्रकाश पार्नुभयो ।

बैठकमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी, मोरङ प्रहरी प्रमुख शान्तिराज कोइराला, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डीवी क्षेत्री, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख टंक गौतमसहित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले विराटनगरलाई व्यवस्थित बनाउने महानगरको अभियानमा सधैं साथ रहने प्रतिबद्धता जनाउनुभएको छ ।

बैठकमा एक सयभन्दा बढी विभिन्न सरकारी कार्यालयका प्रमुख र प्रतिनिधिहरूको सहभागिता थियो ।

Back to top button