प्रदेश १ को मुख्य न्यायाधिवक्तामा आचार्य नियुक्त

विराटनगर । प्रदेश १ को मुख्य न्यायाधिवक्तामा बरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य नियुक्त हुनुभएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गर्नुभएको थियो ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सरकारको कानुनी सल्लाहकारका रुपमा मुख्य न्यायाधीवक्ताले काम गर्नुपर्छ ।

मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएका आचार्य नेपाल बुद्धिजीवी परिषद् झापाका अध्यक्ष समेत हुनुहुन्छ । आचार्य २०७१ सालमा नेपाल बार एसोसिएसन झापाको अध्यक्ष हुनुभएको थियो ।

राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएका आचार्यले २०७४ सालमा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नुभएको हो ।

Back to top button