महानगरको आयोजनामा शिक्षक खेलकुद तालिम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शिक्षक खेलकुद तालिम सम्पन्न भएको छ । तालिम समापन समारोहलाई सम्बोधन गर्दै विराटनगर महानगरका मेयर नागेश कोइरालाले विद्यालयलाई खेलाडी उत्पादन गर्ने थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पठनपाठन सँगसँगै खेलकुदको विकासमा ध्यान दिनुपर्ने भन्दै विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सके मात्रै खेलकुदको विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘पढ्नु मात्रै सबै कुरा होइन, पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयहरुले ध्यान दिनुपर्छ ।’ खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यको विकाससँगै अनुशासन सिकाउने उहाँको भनाइ थियो ।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले महानगर खेलकुद ऐन निर्माण भइसकेको जानकारी गराउँदै अब महानगरभित्रको खेलकुद क्षेत्रको विकास हुने दाबी गर्नुभयो । विद्यालयमा खेलकुदको विकास र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यार्थी खेलाडीहरु प्रशिक्षण लिएरै सहभागी हुन पाउन भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

तालिमका प्रशिक्षक र सहभागीहरुलाई मेयर कोइराला र शैक्षिक प्रशासन महाशाखा प्रमुख खतिवडाले प्रमाणपत्र प्रदान गर्नुभयो । तालिममा सहभागी शिक्षकले आफ्ना विद्यार्थीलाई प्रशिक्षण दिनेछन् । तालिममा महानगर क्षेत्रभित्र सञ्चालित २४ विद्यालयका ३० जना शिक्षक र कर्मचारीको सहभागीता थियो ।

समापन समारोहमा जिल्ला खेलकुद प्रमुख राजन पोखरेल, प्रशिक्षकका तर्फबाट उपेन्द्र यादव, सहभागीका तर्फबाट फडिन्द्र वस्तीले आ–आफ्ना विचार राख्नु भएको थियो ।

Back to top button