
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसोको समयमा बन्द गरिँदै आएकामा आजबाट खुला भएको छ। उक्त सडक खण्डको पुल फराकिलो बनाउने क्रममा भित्तो काट्न कठिन भएपछि गत पुष ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो।
पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म र त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिदै आएको थियो। नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारीसाधन रोकेर पाँच ठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ।
तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम शनिबारदेखि बन्द गरिएको हो । तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानसहितको डाँडो थियो। सो डाँडोलाई काट्न कठिन भएको हो। सो पहाडको अझै ४० मिटर काट्न बाँकी छ। यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टिको भित्तो काट्ने काम अन्तिम चरणमा रहेको छ।
सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ। यी पुलसँगै काम थालिएका ९ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन्। यसअघि नै सो सडकका ५ पुल बनिसकेका थिए। पाँचवटा पुल निर्माणाधीन छन्। सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो।
पहिलेको पुलको छेउमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो। आचार्यका अनुसार तुइन खोलाको भित्तो काट्नका लागि विस्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको छ। अनुमति पाएसँगै एक महिनामा विस्फोटक पदार्थ झिकाएर विस्फोट गराउने तयारी आयोजनाले गरेको उहाँले जानकारी दिनुभयो।
विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो। एउटा पुलको काम सुरु भएको छैन। पुलको छेउमा सुकुम्वासी बसेकाले हटाउन नसक्दा काम रोकिएको हो। विश्व बैंकको सहयोगमा काम गर्दा क्षतिपूर्ति दिलाएर मात्रै काम गर्नुपर्ने प्रावधान रहेको छ। आयोजनाका प्रमुख किरण कार्कीका अनुसार क्षतिपूर्तिका लागि एक करोड रुपैयाँ हाराहारी खर्च हुन्छ।